जनस्तरबाटै आवधिक योजना निर्माण गर्दै हेटौंडा उपमहानगर
हेटौंडा– विकासे योजनालाई जनअपेक्षा अनुसार निर्माण गर्ने उद्देश्यले हेटौंडा उपमहा नगरपालिका कार्यालयले जनस्तरबाटै योजना छनोटको काम सुरु गरेको छ ।
हेटौंडामा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८६ का लागि निर्माण गर्न लागेको आवधिक योजना तर्जुमालाई जनस्तरबाटै थालेको हो । विषयगत समिति सहित विभिन्न विषयमा जानकाहरुसँग छलफल गर्दै दीर्घकालीन सोच निर्धारण कार्यशाला गोष्ठी सम्पन्न गरेको उपमहानगरले आइतबारबाट वडा तहबाटै योजना छनोटको काम सुरु गरेको हो ।
शनिवार नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएकोे गोष्ठीले ‘स्वच्छ, उत्पादनशील सम्वृद्ध सहर हेटौंडा’ को सोच निर्धारण गरेको थियो । गोष्ठीबाट आएको सोचको आधारमा रही आगामी ३ महिनाभित्र वडागतरुपमा विभिन्न साना तथा ठुला योजनाहरु छनोट गरी आवधिक योजना निर्माण कार्यसम्पन्न गर्नेछ ।
दीर्घकालीन सोच अनुसार फरक-फरक विषयगत समूहहरु परिचालन गरी हेटौंडाको समग्र विकासमा प्रभाव पार्ने योजनाहरु सम्लग्न गर्दै आवधिक योजना निर्माण गरिने नगरप्रमुख लामाले जानकारी दिएकी छन् । आवधिक योजना निर्माणको क्रममा नगरका सबै वडामा पुगेर जनस्तरबाटै आवश्यकता र मागका आधारमा आगमी बर्षबाट बजेट बिनियोजन गर्दै अघि बढ्ने क्रममा उपमहानगर रहेको नगरप्रमुख लामाले बताइन् ।
योजनाविहीन ढंगबाट काम गर्दा प्रतिफल नदेखिने भएकाले आगामी पाँचवर्षको कामबाट उपमहानगरले नयाँ गति लिने उनको विश्वास छ । आगामी पुसमा हुने नगरसभाबाट आवधिक योजना स्वीकृत गरी आर्थिक वर्ष २०८१/८६ मा आवधिक योजना लागु हुने उपमहानगरले जनाएको छ । जनताको प्रत्यक्ष सहभागिता सहित जनअपेक्षा समेट्ने गरी वडा तहबाटै साना तथा ठूला योजना संकलन गदै उपमहानगरले आगामी बाटो निर्धारण गर्नका लागि आवधिक योजना निर्माण गरेको हो ।
सेवाप्रदायक संस्थाको सहयोगमा उपमहानगरपालिकाले आगामी पाँचवर्षको लागि जनस्तरमा पुगेरै नगरको विकास र समृद्धिको बाटो तय गर्नका लागि सार्वजनिक छलफल चलाएको छ । २०६८/७२ सालसम्म पञ्चवर्षीय आवधिक योजना कार्यान्वयन गरेको थियो । सरकारले विकासका योजनालाई व्यवस्थित बनाउँदै दिगो विकास लक्ष्यलाई समेट्नका लागि आवधिक योजनालाई प्राथमिकतामा राख्न निर्देश गरेअनुसार उपमहानगरले कामलाई अघि बढाएको हो ।
विषयगत समिति र त्यसका उपसमिति निर्माण गरेर बजेटका प्राथमिकता र कार्यान्वयनको पाटोलाई केलाउँदै आगामी केही आवधिक योजना निर्माण हुने हेटौंडा उपमहानगरले जनाएको छ । आवधि योजना निर्माणको क्रममा समाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् जोखिम र संस्थागत विकास तथा सुशासन विकास समिति बनाएर काम अघि बढाइएको छ ।