एमाले प्रदेश अध्यक्षमा कृष्ण दाहाल २५७ मतान्तरले पराजित

संवाददाता
अशोज १३, २०८०

हेटौंडा– नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् ।ढुंगेलका प्रतिद्वन्द्वी मकवानपुरका कृष्णप्रसाद दाहाल पराजित भएका छन् ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार भएको मतदान पश्चात् राती सम्पन्न मतपरिणामअनुसार ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार दाहालले भने ४३९ मत प्राप्त गरे । दाहाल २५७ मतान्तरले पराजित भएका छन् । ढुंगेल यसअघि २०७४ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेशमन्त्रीसमेत भएका थिए ।

उनलाई महासचिव शंकर पोखरेलको समर्थन रहेको बताइएको थियो । उता पराजित मकवानपुरका दाहाल तीनपटक सांसद बने भने २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अर्थसमितिको सभापति थिए । उनलाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको बताइएको थियो ।

अध्यक्षमा पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकबाट प्रतिक्रिया दिँदै दाहालले कार्यक्षेत्रमा भेट हुने प्रतिबद्धता जनाएका छन् । उनले प्रणालीमार्फत एमालेलाई बलियो बनाउने अभियानमा सफल भएको दाबी गरे । पार्टीको शिर्ष नेतृत्वले सहमति लाद्न खोजेपछि दाहालले अडान कसेपछि शुक्रबार मतदानबाट नतिजाको टुंगो लगाइएको थियो ।

उनले प्रतिद्वन्द्वी उम्मेद्वार ढुंगेलसहित निर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिए ।दाहाल मकवानपुरको साविक ठिंगन गाविस ९हालको बकैया गाउँपालिका०मा २०२० सालमा जन्मिएका थिए । दाहाल पार्टी र संसदीय राजनीतिमा स्थापित नेता हुन । २०३८ सालमा तत्कालीन मालेसँग कम्युनिष्ट आन्दोलनमा होमिएका दाहाल आफनो राजनीतिक यात्रामा प्रधानपञ्च हुँदै ३ पटक सांसद भइसकेका नेता हुन् ।

२०४३ सालमा जनपक्षीय उम्मेदवारको रुपमा दाहालले मकवानपुरको तत्कालीन ठिंगन पञ्चायतको प्रधानपञ्च जितेका थिए । राप्रपाको प्रभाव रहेको मकवानपुरमा कम्युनिष्ट आन्दोलनलाई बढावा दिन दाहालको भूमिका अहम छ । उनी २०४५ सालबाट एमाले जिल्ला कमिटीमा रहेर काम गरेका थिए । दाहाल मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट ३ पटक सांसद भइसकेका छन् । २०४८, २०५६ र २०७४ मा विजयी भएका दाहाल २०७४ मा प्रतिनिधिसभाको अर्थ विकास समितिको सभापति भएर काम गरेका छन ।

दाहालले २०५४ बाट २०६६ सम्म चारक पटक मकवानपुर एमालेको नेतृत्वमा रहेर काम गरे । यसअघि चितवनमा सम्पन्न एमालेको १० औँ केन्द्रीय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा आएका थिए । उनी पटक–पटक गरी दुई वर्ष जेल बसेका छन् । यसैगरी पार्टी अन्तिम मतपरिणामअनुसार एमाले बागमती प्रदेश कमिटी उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् ।

उनले ६१५ मत प्राप्त गरेका छन् । सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् । सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।

पुरुष तर्फको उपसचिवमा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन । महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो । ११६८ मतदाता रहेको निर्वाचन प्रक्रियामा ३२ जना अनुपस्थित रहे ।

सदस्यमा मकवानपुरका ७ जना विजयी

अधिवेशनबाट खुल्ला सदस्यमा मकवानपुरका ७ जना निर्वाचित भएका छन् । प्रतिस्पर्धाबाट बद्री लम्साल (६४८), रघुनाथ खुलाल (६१६), रामचन्द्र राई (६६०), दिलबहादुर घिसिङ (६४३), कमल बिष्ट (६१२), ईन्द्र मान स्याङताङ (७२९) र नवराज तिमल्सिना ६६६ मतसहित विजयी भएका हुन् । यसअघि मकवानपुरका ११ जना सदस्यमा निर्विरोध चयन भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*