प्रविधियुक्त सेवा विस्तारमा अग्रसर बन्दै राक्सिराङ

संवाददाता
अशोज १३, २०८०

हेटौंडा– मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिकाले आफ्ना सेवालाई प्रविधियुक्त बनाउँदै लैजाने भएको छ । स्मार्ट गाउँपालिका बनाउले लक्ष्यमा अघि बढेको गाउँपालिकाले विद्युतीय सुशासन प्रणालीमार्फत सेवालाई स्तरीय,छरितो र प्रविधियुक्त बनाउने भएको हो ।

राक्सिराङ गाउँपालिकाले तयार गरेको डिजिटल प्रोफाइल, मोवाइल एप्लिकेसनसहित विद्युतीय सुशासन प्रणालीलाई बृहतरुपमा कार्यान्वयन गर्ने उद्धेश्यका साथ गाउँपालिकाले सोमबार कर्मचारी र जनप्रतिनिधिलाई अभिकुखीकरण तथा प्रशिक्षण दिएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित कर्मचारी र वडासचिवहरुलाई स्मार्ट पालिका बृहतरुपमा कार्यान्वयन गरी लागू गर्नका लागि सम्बन्धित सेवाप्रदायक संस्थाका विज्ञबाट अभीमुखीकरणर प्रशिक्षण दिइएको हो ।

गाउँपालिकाले तयार गरेको विद्युतीय सुशासन प्रणाली पूर्णरुपमा कार्यान्वयन हुँदासम्म विभिन्न दर्ता चलानीदेखि सिफारिस समेत सेवाग्राहीले अनलाइनमार्फत नै प्राप्त गर्न सक्नेछन् । ब्यक्तिगत घटना दर्तादेखि कर तथा राजस्व तिर्ने व्यवस्था पनि अनलाइनमार्फत नै हुनेछ । प्रशिक्षण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सुशासन र प्रविधियुक्त गाउँ बनाउने अभियानमा आफूहरु रहेको बताए ।

स्मार्ट पालिकाको अवधारणाअनुरुप सेवाग्राहीले घरमै बसेर प्रविधिको प्रयोगमार्फत गाउँपालिकाको सेवा लिने अवस्था ल्याउन लागिएको उनले प्रष्ट पारे । कर्मचारी र जनप्रतिनिधि अब प्रविधिसँग अभ्यस्त र अपडेट हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, ३ नम्बर वडाध्यक्ष उत्तम वाइबालगायतले मन्तव्य व्यक्त गरेका थिए । सेवाप्रदायक संस्थाका तर्फबाट राजानन्द मान्डवीले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*