पर्यटकीय गन्तव्य उन्मुख राक्सिराङको जलपरी झरना
हेटौंडा– राक्सिराङ गाउँपालिकामा रहेको जलपरी झरना आकर्षक पर्यटकीय स्थलका रुपमा विकास हुँदैछ । भौगोलिक रुपले विकट राक्सिराङमा जलपरी झरना र चमेरो गुफा पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहेको छ ।
झरना र गुफाको विकासका लागि स्थानीय गाउँपालिका र प्रदेश सरकारले नै लगानी गरिरहेको छ । दुवै सरकारको लगानीमा राक्सिराङ गाउँपालिकाको जलपरी झरना परिसरको सौन्दर्यतामा वृद्धि हुँदै गइरहेको हो ।
प्राकृतिक रुपले आकर्षक र सुन्दर जलपरी झरना परिसरमा बागमती प्रदेश सरकारको लगानीमा राक्सिराङ गाउँपालिकाले भौतिक संरचनाहरु निर्माण गरेपछि व्यवस्थित बनेको हो । राक्सिराङ ३ स्थित सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने जलपरी झरना र त्यसको आडैमा रहेको चमेरो गुफासम्म पुग्नका लागि अहिले दोहोरो बाटो निर्माण भएको छ ।
यसअघि बनाइएको फलामे रेलिङसहितको बाटोलाई सुधार गरिएको छ भने त्यसको बिपरित फलामे पुल र अर्का बाटो निर्माण गरिएको छ । फलामे रेलिङ र सिन्धुपाल्चोकबाट ल्याइएको ढुंगा बिछ्याएर झरनासम्म जाने बाटो आकर्षक बनाइएको छ । झरना पुग्नेबित्तिकै सवारीसाधन पार्किङ र त्यसभन्दा दक्षिणतर्फको जंगलमा दुईवटा ट्रस्ट भवन निर्माण गरिएका छन् ।
ती ट्रस्ट वनभोजका लागि उपयोग गरिनेछ । सार्बजनिक शौचालय निर्माण भएको छ भने झरनाको तल्लो भागमा टिकट घरका लागि भवन निर्माण भएका छन् ।‘झरना नजिकै जलपरीको एउटा मूर्ति राख्ने सोच छ’, राक्सिराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए । तर, यसबर्ष बागमती प्रदेश सरकारले जलपरी झरनाको लागि बजेट बिनियोजन गरेको छैन । तैपनि जलपरी झरनालाई दशैँअघि नै प्रमुख पर्यटकीय केन्द्रको रुपमा विकास गर्नेगरी तयारी गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । ‘हामी अब हरेक संघसंस्था र हाम्रो आन्तरिक बैठक यसैमा सञ्चालन गर्ने गरी तयारी गर्छौ’, मल्लले भने ।
मनहरी बजारबाट मोटरसाइकलमा ३५ मिनेटमै पुग्न सकिने जलपरी झरना क्षेत्रको बहुआयामिक विकासका लागि हरेक क्षेत्र र ढंगबाट पहल कदमी लिइने गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले बताए । अबको केही समयभित्र झरना सञ्चालनका लागि समिति निर्माण गरी कर्मचारीको व्यवस्थापन गर्ने र प्रवेश टिकटको व्यवस्था मिलाइने राक्सिराङ गाउँपालिका ३ नं वडाध्यक्ष उत्तम वाइबाले बताए ।
जलपरी झरना परिसरमा भौतिक संरचना निर्माण अहिले पनि जारी नै छ । यसको सौन्दर्य बढाउनका लागि झाडी सफाई भएको छ भने फूलका विरुवा रोपिएका छन् ।
राक्सिराङ गाउँपालिकाको प्रमुख पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गरेको वडा नं ३ जलपरी झरना र चमेरो गुफा क्षेत्रमा फूलका विरुवा रोपिएको हो । राष्ट्रिय बृक्षरोपण दिवसको अबसर पारेर राक्सिराङ गाउँपालिकाले पर्यटकीय क्षेत्रको सौन्दर्यता बृद्धिका लागि बृक्षरोपण गरेको हो ।
सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा रहेको जलपरी झरना र चमेरो गुफामा ५ सय थान फूलका बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । गुलमोर, लालुलाते, चुवा लगायतका फूलका बिरुवा
रोपिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
बिरुवा रोप्ने कार्यमा गाउँपालिका अध्यक्ष मल्ल, उपाध्यक्ष थिङ, प्रमुख प्रशासकीय अधिकृत गर्तौला, ३ नं वडाध्यक्ष वाइबा, ७ नं वडाध्यक्ष रामबहादुर प्रजा, ९ नं वडाध्यक्ष रामकुमार बाल्पा थिङ, सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङसहित कर्मचारी, सञ्चारकर्मी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, सूर्योदय माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकको सहभागिता रहेको थियो ।
निर्माणाधीन अबस्थामा रहेको जलपरी झरना परिसरलाई आगामी दशैँअघि नै आकर्षक पर्यटकीय गन्तब्यको रुपमा अघि बढाइने र हरेक किसिमका सार्बजनिक कार्यक्रम, तालिम र गोष्ठी सोहीस्थानमा सञ्चालन हुने गरी व्यवस्था मिलाउने गरी काम अघि बढाइएको छ । बृक्षरोपणपछि आयोजित सभामा सहभागी वक्ताले जतिसक्दो चाँडो झरना परिसर नजिकै होमस्टे वा व्यवस्थित आवासीय होटल सञ्चालन हुनुपर्ने कुरामा जोड दिएका थिए ।