बजेट संशोधन नभए सदन चल्न नदिने विपक्षी दलको चेतावानी
हेटौंडा– विपक्षी दलको विरोधका कारण बजेटमाथि छलफल सुरु हुन नसक्दा बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । बुधवार ११ बजेदेखि सुरु हुने भनिएको प्रदेशसभा बैठक अपरान्ह राप्रपा संसदीय दलका नेता उद्धव थापाले बोलेपछि सभामुख भुवनकुमार पाठकले १७ असारसम्मलाई प्रदेशसभा बैठक स्थगित गरेका छन् ।
१ असारमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याइएको बजेटमाथि मंगलवारबाट छलफल सुरु गर्न बैठक बोलाइएको थियो । मंगलवार तीन चरणसम्म बैठक बोलाएर पनि नेकपा एमाले र राप्रपाको अवरोधपछि प्रदेशसभा बैठक बुधवार बिहान ११ बजेलाई राखिएको थियो ।
तर, बजेटमाथि असन्तुष्टि जनाउँदै प्रदेशको विपक्षी दल नेकपा एमाले र राप्रपाले अवरोध कायम राख्ने भएपछि बजेटको छलफल नै सुरु हुन सकेको छैन । बुधवार प्रदेशसभामा अनौठो दृश्य देखिएको छ ।
प्रदेशको इतिहासमा पहिलोपटक सत्तापक्ष नै बैठकमा अनुपस्थित भए । प्रतिपक्षले बैठक बहिष्कार गर्ने गरेका घटना भइरहे पनि हेटौंडा–१० स्थित प्रदेशसभा भवनमा सत्तापक्ष नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरुकै उपस्थिति थिएन ।
वुधवार ११ बजे बोलाइएको बैठक १ बजे सुरु गर्ने भनिए पनि सत्तापक्षका सांसदहरु नै प्रदेशसभा भवनमा नआएपछि साँझ ५ बजे बैठक बस्ने सूचना टाँस गरिएको थियो ।
५ बजेपछि बैठकको पूर्वसन्ध्यामा प्रदेशसभा आइपुगेका सत्तापक्षका सांसदहरु बैठक नबस्ने भन्दै बाहिरिएका थिए ।बैठक सुरु हुनुपूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, कांग्रेसका तीन मन्त्री आइपुगेका थिए ।
मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनमन्त्री बहादुरसिं लामा, खानेपानी ऊर्जा तथा सिंचाइमन्त्री तीर्थबहादुर लामा, पर्यटनमन्त्री पुकार महर्जन, कृषिमन्त्री राजेन्द्रमान श्रेष्ठ, स्वास्थ्यमन्त्री उत्तम जोशी उपस्थित थिए । सत्तापक्षका सांसद बस्ने टेबलमा कांग्रेसका इन्द्रबहादुर बानियाँ मात्रै थिए । विपक्षी दल एमाले र राप्रपाका गरी २६ जना सांसद थिए ।
प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बैठक अवरुद्ध गर्ने भएपछि सत्तापक्षका सांसदहरु नै बैठकमा अनुपस्थित भएका हुन् । एमाले र राप्रपाले बजेट संशोधनको माग राखेको छ । बजेट संशोधन नभएसम्म बैठक चल्न नदिने अडान एमाले र राप्रपाको छ । वुधबारको अन्तिम बैठकमा बोलेका राप्रपाका नेता थापाले बजेट संशोधनको माग राखेका छन् ।
थापाले प्रदेश सरकारले असन्तुलित, पक्षपाती र अबैज्ञानिक बजेट ल्याएको आरोप लगाएका थिए । ‘तपाईहरु आफ्नो क्षेत्रको मात्रै मुख्यमन्त्री होकि, सिङ्गो बागमती प्रदेशको मुख्यमन्त्री हो ?’ थापाले प्रश्न गरे, ‘त्यो कुरा नै बास्तवमा प्रष्ट भएन ।’ थापाले बागमती प्रदेश सरकार सानो घेरामा खुशी भएर बस्न चाहेको आरोप लगाए । थापाले प्रदेश सरकारले टुक्रे योजना नल्याउने भन्दै भाषण गरेको तर, बजेट वक्तव्यमा ५ लाख रुपैयाँसम्मको बजेट देखिएको बताए ।
उनले आगामी वर्षको बजेट पनि ६० प्रतिशत भन्दा माथि पुँजिगत खर्च गर्न नसक्ने भन्दै १२ हजार भन्दा बढी योजनाहरु कसरी सम्झौता गर्ने भन्दै प्रश्न गरे ।
‘हिजो पनि सदन हामीले अवरुद्ध ग-यौं । हाम्रो कुरालाई सम्बोधन गर्दिनुस, समय छ । हामी पनि तपाईहरुसँग बसेर एउटा प्रक्रियामा अगाडि जानको लागि समर्थन गर्छौ,’ थापाले भने, ‘यदि सरकारले कुनै पनि प्रकारका विषयमा प्रतिपक्षलाई बोलाएर कुरा गर्ने अवस्था सिर्जना नभएसम्मको लागि यो सदन अवरुद्ध गर्छौ यो सदन चल्न दिदैनौं ।’
मंगलवारको बैठक पनि अवरोध गर्दै नेकपा एमाले र राप्रपाका सांसदहरुले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारको बजेटलाई जनताविरोधी भन्दै नाराबाजी गरेका थिए । मंगलवारको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले ल्याएको बजेटमा धेरै जनता विरोधी काम राखिएको आरोप लगाएका थिए ।
सरकारले सडक निर्माण र डिप बोरिङको लागि भन्दै ५ लाखको बजेट विनियोजन गर्नु निकै लज्जास्पद विषय भएको भन्दै उनले यस्ताखालको विषय प्रदेश सरकारको लाजको विषय भएको बताए थिए ।
आर्थिक मामिला तथा योजनामन्त्री लामाले विपक्षी दलहरुसँग बजेटका सम्बन्धमा कुरा भइरहेको र सहमतिको प्रयास भइरहेको बताए । मुख्यमन्त्री जम्कट्टेल र अर्थमन्त्री लामाले सोमबार साँझ एमाले संसदीय दलका नेता जगन्नाथ थपलियासँग वार्ता गरेका थिए । तर, सहमति हुन नसकेको जनाइएको छ ।