चिउरी, चेपाङ र चमेरो समेटिएको पुस्तक बिमोचन
जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरीमा ‘चिउरी, चेपाङ र चमेरोः एक नयाँ आयामको खोजी’ पुस्तक बिमोचन गरिएको छ ।
डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यद्वारा लिखित पुस्तक बुधवार प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्काले बिमोचन गरेकी हुन् । पुस्तकमा चेपाङ समुदाय, चिउरीको उपयोगीता र सम्भावना तथा चमेरोको विषय समेटिएको छ ।
यी तीनै विषय जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकासँग सम्बन्धित छ । पुस्तक बिमोचन समारोहलाई सम्बोधन गर्दै वनमन्त्री खड्काले चेपाङको संस्कृतिसँग जोडिएको चिउरीको रुख जोगाउन सके पश्चिम मकवानपुरमा बसोबास गर्ने चेपाङ समुदायको आर्थिक समुन्नति हुने बताइन् ।
मन्त्री खड्काले चिउरी बहुउपयोगी बृक्ष भएकोले यसको संरक्षणसँगै उपयोगितामा जोड दिएकी छन् । खड्काले चिउरीको संरक्षण गर्दै यसका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन र नीतिगत व्यवस्थाका लागि प्रदेश सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
त्यसैगरी बागमती प्रदेश सरकारका पूर्वराज्यमन्त्री एबम् चेपाङ अगुवा सन्तबहादुर चेपाङले चिउरी प्रवद्र्धनका लागि आफूले पटकपटक पहल गरेको बताउँदै अहिले वन तथा वातावरण मन्त्रालयमार्फत बजेट बिनियोजन हुनुपर्ने चिउरी संरक्षणको लागि अन्य मन्त्रालयले कार्य गर्न लागेकामा असन्तुष्टि समेत जनाए ।
वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले २८ बर्षअघि आफू कबुलियती वनको प्राविधिकको रुपमा आउँदा पनि चिउरी संरक्षणकै बहस भइरहेको र अहिले पनि त्यही बिषयमा बहस भइरहेको पाएकाले सरकारले गर्नुपर्ने काम र समुदायले निर्वाह गर्नुपर्ने भूमिका स्पष्ट नभएसम्म प्रश्न उठिरहने बताए । दाहाले चिउरी संरक्षणलाई आर्थिक पाटोसँग जोडेर अध्ययन गरिनुपर्ने भन्दै हरेक दृष्टिकोणले चिउरीको संरक्षण हुनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले चिउरी संरक्षण, सालक संरक्षणमा डिभिजन वन कार्यालय राप्तीले अग्रसरता देखाइ काम गरिरहेको बताए । कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका प्रमुख लोकराज नेपाल, चिउरीको बिषयमा पिएचडी गरिरहेका श्रीहरि भट्टराई, राक्सिराङ गाउँपालिका–८ का वडाध्यक्ष हविल प्रजा, ५ का वडाध्यक्ष हरि प्रजा, कार्यपालिका सदस्य सिंगलाल प्रजासहितका जनप्रतिनिधि, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, चिउरी व्यवस्थापनमा ध्यान दिइरहेका विभिन्न सामुदायिक वनका प्रतिनिधि र उपभोक्ताले चिउरीको जगेर्ना, विकास र बजार व्यवस्थापनमा चासो व्यक्त गरेका थिए ।
डिभिजन वन कार्यालय राप्ती र राक्सिराङ गाउँपालिकाको संयुक्त पहलमा प्रकाशित पुस्तक मन्त्री खड्काले चेपाङ समुदायलाई हस्तान्तरण गरी सार्बजनिक गरेका थिए । पुस्तकका सन्दर्भमा लेखक एबम् डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले स्पष्ट पारेका थिए ।
कार्यक्रम सुरु हुनुअघि डिभिजन वन कार्यालय राप्तीको परिसरमा मन्त्री खड्काले चिउरीको बिरुवा रोपेका थिए । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा चितवनको राप्ती नगरपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रबाट चिउरी संरक्षणकर्मी सहभागिता रहेको थियो ।