राक्सिराङमा कुपोषणको जोखिम
हेटौंडा– पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बस्तीमा पछिल्लो समयमा बालबालिकामा कुपोषणको समस्या जटिल बन्दै गएको छ । तीनै तहको सरकारले बालबालिकालक्षित पोषण कार्यक्रम सञ्चालन गर्दै आएपनि चेपाङ बालबालिकामा कुपोषणको समस्या घटेको छैन ।
राक्सिराङ गाउँपालिकामा संघीय सरकारले केही वर्षदेखि चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी चेपाङ स्वास्थ्य सुधारअन्तर्गत कुपोषण न्यूनीकरणका लागि बालबालिकाको पोषण अवस्था लेखाजोखा तथा सुधार कार्यक्रम सञ्चालन गर्दै आएको छ तर, चेपाङ समुदायको बालबालिकामा कुपोषणको समस्यमा सुधार आउन सकेको छैन ।
चेपाङ स्वास्थ्य सुधारअन्तर्गत कुपोषण न्यूनीकरणका लागि कार्यक्रम सञ्चालनमा आएको लामो समयपछि राक्सिराङ गाउँपालिकाको स्वास्थ्य शाखाले पहिलो पटक चेपाङ बालबालिकाको पोषण अवस्था जाँच गर्न टोल र बस्तीस्तरमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यसंयोजक विजयकुमार कापरीले विकट बस्तीमा खाद्यान्न अभाव देखिएपछि अभियानकारुपमा टोल र बस्तीस्तरमा बालबालिकाको पोषणको अवस्था जाँच गर्न थालिएको जानकारी दिए ।
शुक्रबारदेखि गाउँपालिकाको नौवटै वडामा सुरु गरिएको अभियान अन्तर्गत छ महिनादेखि ५९ महिना मुनिका चेपाङ बालबालिकालाई लक्षित गरी स्वास्थ्यकर्मीले पोषणको अवस्था जाँच गरिरहेका छन् । स्वास्थ्यकर्मीले बालबालिकाको तौल, उचाइ र पाखुराको नाप लिएर बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउने बताउँदै गाउँपालिकाभित्र रहेका ७१ वटा टोलमा परीक्षण कार्य असार ७ गतेसम्म सञ्चालन हुने उनले जानकारी दिए ।
दुई दिनमा २५ वटा टोलमा ७ सय ३४ जना बालबालिकाको पोषण लेखाजोखा गरिएकामा ६६ जना अर्थात् नौ प्रतिशतमा कडा शीघ्र कुपोषण र ९४ जनामा मध्यम शीघ्र कुपोषण देखिएको छ । ‘७३४ जना बालबालिकाको पोषण लेखाजोखा गर्दा १६० जना अर्थात् २२ प्रतिशतमा कुपोषण देखिएको छ ।
पोषणका दृष्टिले यो बालबालिकाको जटिल अवस्था हो, तत्काल समाधान आवश्यक छ अन्यथा स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्छ,’ स्वास्थ्यसंयोजक कापरीले भने । उनका अनुसार पाँच जनाको पोषण लेखाजोखा गर्दा दुई जनामा कुपोषण देखिएको छ । पोषणको अवस्था सुधार गर्न बालबालिकाबीच स्वास्थ्य प्रतियोगिता, सरसफाइ, मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरण कार्यक्रम, चेपाङ आमालाई पोषणसम्बन्धी तालिम प्रदान गर्दै आएका र कुपोषण भएकाहरुका लागि बालबालिकाको अवस्था अनुसार उपचारात्मक खाना प्रदान गरिँदै आएको उनले जानकारी दिए ।
उपचारात्मक खानाको प्रयोग ४२ दिनसम्ममा पनि कुपोषण भएका बालबालिकाको अवस्थामा सुधार नआएमा सदरमुकाम हेटौंडामा रहेको पोषण पुनस्र्थापना केन्द्रमा पठाइने गरिएको छ। ‘चेपाङ स्वास्थ्य सुधारअन्तर्गत कुपोषण न्यूनीकरणका लागि बालबालिकाको पोषण अवस्था लेखाजोखा तथा सुधार कार्यक्रम चेपाङ बालबालिकालक्षित हो तर गाउँपालिकामा कुपोषणको समस्या रहेकाले अन्य समुदायका बालबालिकाको पनि पोषण अवस्था लेखाजोखा गर्ने र अवस्था अनुसार उपचारात्मक खाना प्रदान गर्ने गरिएको छ,’ स्वास्थ्यसंयोजक कापरीले अगाडि भने ।
गाउँपालिकाको वडा नं. ७ मा २०८ जनाको जाँच गर्दा २५ जनामा कडा कुपोषण र ४४ जनामा मध्यम कुपोषणको अवस्था रहेको पाइएको छ । यस्तै वडा नं. ८ मा ४५ जना चेपाङ बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा २८ जनामा कुपोषण भएको पाइएको थियो । तीमध्ये १६ जना बालबालिकालाई कडा शीघ्र कुपोषण र १२ जना बालबालिकालाई मध्यम शीघ्र कुपोषण भएको भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
उनले कुपोषण भएका बालबालिकालाई उपचारात्मक खाना प्रदान गर्ने गरिए पनि चेपाङ समुदायको आम्दानीको स्रोत नभएको, आर्थिक अवस्था कमजोर र चरम खाद्यान्न अभाव बेहोर्दै आएकाले उपचारात्मक खाना दीर्घकालीन समस्याको समाधान बन्न नसकेकाले विकल्पको खोजी गर्नुपर्ने बताए । प्रत्येक दिन नौवटा टोलमा पुग्ने गरी बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्न एउटा टोलीमा चार जना स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ ।