अपाङ्गता क्षेत्रलाई सम्बोधन नगरेकोमा सांसदहरुको ध्यानाकर्षण
हेटौंडा– बागमती प्रदेशका सांसदहरुलाई राष्ट्रिय अपाङ महासंघ नेपाल बागमती प्रदेशले ध्यानाकर्षण गराएको छ ।
प्रदेश सरकारको विनियोजन विधेयक–२०८० को सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गरिएका बुदाँहरुमा सिमान्तकृत र पछाडि पारिएका वर्ग भनि गोलमटोल शव्दहरुको प्रयोग गरि प्राथमिकतामा राख्नुपर्ने अपाङ्गता भएका व्यक्तिहरुको वर्गलाई सम्बोधन नगरिएको प्रति राष्ट्रिय अपाङ महासंघ नेपाल बागमती प्रदेशले प्रदेश सांसदहरुको बुधवार प्रदेशसभा सचिवालयमै पुगेर ध्यानाकर्षण गराएको हो ।
अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनको लागि २०५० सालदेखि निरन्तर लागिपर्दै आएको तर, अझैसम्म पनि भौतिक संरचना लगायतको धेरै पाटोमा असहजता भोग्नु परेको महासंघका अध्यक्ष अश्विन लम्सालले बताएका छन् ।
महासंघले ६० जना प्रदेश सभा सदस्यलाई ध्यानाकर्षणपत्र बुझाएको लम्सालले बताए । ‘आर्थिक विकासका लाभहरुको समन्यायिक वितरण र उत्पादनका साधनमा सीमान्तकृत समूह तथा समुदायको पहुँच अभिवृद्धि गर्ने नीति अवलम्बन गरिनेछ, अपाङ्गता भएका वर्ग, पिछडिएको क्षेत्र वर्ग र समुदायलाई आर्थिक गतिविधिमा मूलप्रवाहीकरण गरी समावेशी आर्थिक विकासको आधार तयार गरिनेछ” भनिएको प्रति महासंले ध्यानाकर्षण जनाएको हो ।
महासंघले ‘प्रदेशको संस्थागत विकास र सबलीकरणको लागि प्रदेशका संरचनाको पुनरावलोकन गर्ने, कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने, प्रदेश मन्त्रालय निकाय र कार्यालयको पहुँचयुक्त भौतिक संरचना निर्माण गर्ने, प्रदेश कानून तर्जुमा गर्ने, प्रदेश सरकारको जनशक्ति व्यवस्थापन गर्ने, प्रदेशको सेवाप्रवाहलाई थप व्यवस्थित गर्न एकीकृत सेवा कार्यालय स्थापना गर्ने’ भन्ने सिद्धान्त पछ्याउन माग गरेको छ ।
पूर्वाधार विकासअन्तर्गत प्रदेशको सन्तुलित आर्थिक विकासको लागि पहुँचयुक्त भौतिक पूर्वाधारको विकास गर्ने, प्रदेश राजधानीलाई संघीय राजधानीसँग जोड्ने सडकको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने, प्रदेश गौरव आयोजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने, प्रदेश सडक गुरुयोजना अनसुार सडक निर्माण गर्ने, प्रदेश लोकमार्गहरुको विस्तार र स्तरोन्नति गर्ने, विद्यमान भौतिक पूर्वाधारको नियमित मर्मत सम्भार गर्ने भन्ने सिद्धान्त पछ्याउन पनि महासंघले माग गरेको छ ।
यसैगरी पर्यटन क्षेत्रको विकासतर्फ मौलिक कला, संस्कृति र ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्ने, पर्यटकीय पहुँचयुक्त पूर्वाधार विकासमा लगानी गर्ने, धार्मिक तथा मनोरञ्जनात्मक पर्यटन विकास गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने माग गरिएको छ ।