मौलाउँदै लागूऔषध कारोबार
हेटौंडा– मकवानपुर प्रहरीले अबैध लागूऔषध गाँजा ओसारपसार गरेको अभियोगमा आईतबार हेटौंडाबाट एक जना भारतीय सहित ३ जनालाई पक्राउ गरेको छ ।
भारतीय नंबर प्लेटको जीपमा गाँजा सहित १ भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको हो । हेटौंडातर्फ आउँदै गरेको बीआर ०१ बीएन १५१८ नम्बरको कारलाई प्रहरीले हेटौँडा–१ मा नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा पछाडिको सिटमा फल्स बटन बनाएर ९२ किलो गाँजा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जीप चालक भारत मुेजाफरपुर बस्ने २२ वर्षका अमितकुमार दुबे, पर्सा जिल्ला छिपरमाई गाउँपालिका बस्ने ५० वर्षीय नैमुद्धिन मिया र मकवानपुर कैलाश गाउँपालिका–१० का ६० वर्षीय बुद्धिमान थोकर रहेका छन् । उनीहरुको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रतिबन्धित लागूऔषध ओसारपसार गरेको अभियोगमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं, मकवानपुर, बाँके, झापा, कैलाली, सुर्खेत र मोरङबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१६, पक्नाजोलस्थित सबल क्याफे एण्ड खाजा घरबाट अवैध लागूऔषध आइस ड्रग्स ३ ग्राम ५ मिलिग्राम, चरेश २६४ ग्राम, लाइजरजिक एसिड डाइथेलामाइड १३ पिस र पोल्याण्ड ३८ ग्राम र नगद ४९ हजार रुपैयाँ सहित चार जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले जापानिज नागरिक युचिरो अबेमास्तु र ३ जना नेपाली समेत गरी ४ जनालाई पक्राउ गरेको हो । उक्त खाजा घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका–३, मैटहवाबाट अवैध लागूऔषध ब्राउन सुगर करिब १७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय अक्षकुमार थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरोहेरोइन १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका–१ बस्ने २२ वर्षीय समिर दर्जीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मेची पुलपारीबाट दैनिक लागूऔषध भित्रने गरेको स्थानीयले बताएका छन् ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर १७० मिलिग्राम सहित भारत पलिया बस्ने २४ वर्षीय मनोज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीचौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ५५० मिलिग्राम र नगद १० हजारसहित सोही ठाउँ बस्ने ५२ वर्षीया तस्लिमा बिबिसमेत ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१८, मुसरी टोल नजिकबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिले बोरा फाली फरार भएपश्चात जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । उनीहरुको खोजीकार्य जारी रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।