स्थानीय महिलालाई अल्लोको कपडा बुन्न सिकाइयो
हेटौंडा– जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको गोपाली गाउँका स्थानीय महिलालाई अल्लोको कपडा बुन्न सिकाइएको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत अल्लो धागोको ४५ दिने कपडा बुनाई तथा सिलाई तालिम बिहीवार समापन गरिएको छ ।
४५ दिनसम्म गोपाली गाउँका १० जनालाई कपडा बनाउन सिकाइएको हो । १० जना सहभागी तालिमबाट कपडा बुनाई तर्फको चर्खा घुमाउन, टुक्कीमा धागो भर्न, तान लगाउन, कोका–काँगी भर्ने, पाउदानी चलाउने, सटर चलाउन सिक्नुको साथै टोपी र स्टकोटको कपडा काट्ने सीप सिक्न पाइएको सहभागीहरुले जानकारी दिएका छन् । कपडा बुनाई तथा सिलाई सम्बन्धीको पूर्ण सीप सिकेर व्यवसाय संचालन गर्नका लागि क्षमता विकास तालिमको आवश्यक पर्ने तालिम लिने समुहका संयोजक रेश्मा गोपालीले बताए ।
थाहा नगरपालिकाको आर्थिक सहयोग तथा थाहा नगर लघु उद्यम विकास शाखाद्वारा सञ्चालित तालिम थाहा नगरपालिका–३ गोपाली गाउँमा समापन गरिएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगरका उपप्रमुख भरत गोपालीले नगरपालिकाको महिलाहरु उद्यमी बनेर आयआर्जनमा लागे मात्र अन्य क्षेत्रमा समेत अघि बढ्न सक्ने बताए ।
उद्यमी बन्न चाहने महिलाहरुलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गोपालीले जनाए । सीप सिकेको प्रमाणपत्र एउटा हतियार भएको हुनाले यसको प्रयोग गर्न सधैँ तयार हुनुपर्ने उनको भनाइ थियो । अल्लोको कपडा लगाउँदा संस्कृतिको जगेर्ना पनि हुने उनले बताए ।
उपप्रमुख गोपालीले महिला हिंसा हटाउन यस्ता सीप सहयोगी हुने बताए । थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले अल्लो कपडा बुन्ने तालिम लिएका महिलाहरुले अब आत्मनिर्भर बनेर अघि बढ्नुपर्ने सुनाए ।
तालिम समापन कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, थाहा नगरपालिका गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)का अधिकृत कुमार नेगी, प्रशिक्षक हरिगोपाल च्यासीलगायतले आफ्नो धारणा राखे । तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र र प्रशिक्षकलाई प्रशंसा–पत्र प्रदान गरिएको छ ।