बालमैत्री अभियानः नगरका विद्यालयलाई सक्रिय बनाइँदै

संवाददाता
बैशाख १६, २०८०

हेटौंडा– आगामी मंसिरमा बालमैत्री स्थानीय शासन अबलम्बन घोषणा तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको छ ।

८ महिनापछि हुने बालमैत्री घोषणाका लागि उपमहानगरपालिकाले बालबालिका क्षेत्रको सरोकारवाला निकायसँग निरन्तर अभिमुखीकरण गर्दै आइरहेको छ । जसमध्ये बालमैत्री घोषणाका लागि महत्वपूर्ण पक्षका रुपमा रहेको विद्यालय क्षेत्रसँग उपमहानगरपालिकाले शुक्रबार अभिमुखीकरण गरेको हो ।

बालमैत्री संरक्षक शिक्षकहरुको लागि बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै उपमहानगरपालिकाले अभियानमा सक्रिय बनाउन खोजेको छ । बालमैत्री घोषणाका लागि विद्यालयहरु सक्रिय हुनुपर्दछ । विहानदेखि दिउँसोसम्म विद्यालयमै बालबालिकाहरु रहने भएकाले उपमहानगरले बालमैत्री गतिविधि विद्यालयबाट गराउन खोजेको हो ।

उपमहानगरकी सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले नगरका ६० वटा विद्यालयको अवस्था बुझेकी थिइन् । अभिमुखीकरणमा १, ३, ५, ७, ९, ११, १३, १५, १७ र १९ नम्बर वडामा रहेका विद्यालयका शिक्षकहरुको सहभागिता थियो ।

बालमैत्री संरक्षक शिक्षकहरुले गत फागुनमा विद्यालयहरुमा गठित बाल समूहको वर्तमान अवस्था, विद्यालयको बालमैत्री भौतिक संरचना, बालबालिकाहरुको सचेतना अभिवृद्धि तथा विद्यालयमा भएका गतिविधिका बारेमा उपमहानगरलाई जानकारी गराएका थिए । नगरका अधिकांश विद्यालयहरुले गत फागुनमा गठित बाल समूहबाट अपेक्षाकृत गतिविधि हुन नसकेको बताएका छन् ।

गत शैक्षिक सत्रको वार्षिक परीक्षाको मुखमै बाल समूहहरु गठन भएकाले बालबालिकाहरुलाई अभियानमा सँगसँगै हिँडाउन नसकेको शिक्षकहरुले बताए । उपस्थित सबै विद्यालयका शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाल समूहलाई पनि सक्रिय बनाउने प्रतिबद्धता जनाएका छन् । शिक्षकहरुले बाल समूह सक्रिय हुँदा भर्ना दर बढेकोदेखि बालमैत्री अभियानमा उपमहानगरको गतविधि ठिक ढंगबाट सञ्चालन हुन नसकेकोसम्मको विषय उठाएका थिए ।

कालिका आधारभूत विद्यालयका शिक्षक रामकृष्ण न्यौपानेले बाल समूह गठन भएपछि समयमा छलफलसमेत हुन नसकेको बताए । उनले उपमहानगरले गर्ने बालमैत्री अभियानका गोष्ठी तथा छलफल अपुरो हुने गरेको गुनासो गरे । कार्यसम्पादनलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा उनको जोड छ ।
११ नम्बर वडाकी शिक्षक सविना शर्माले बाल समूह सक्रिय हुँदा विद्यालय बाहिर रहेका बालबालिकालाई पनि उनीहरुले विद्यालयमा भर्ना हुन ल्याएको बताइन् । हेटौंडा–१७, स्थित दीव्यज्योति आधारभूत विद्यालयकी शिक्षिका गीता न्यौपानेले बालमैत्री अभियानलाई सघाउ पुग्ने गरी कार्यहरु भइरहेको बताइन् ।

विद्यालयको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइनुका साथै खानेपानी धारा बालमैत्री नै रहेको जानकारी दिइन् । शिक्षक न्यौपानेले बालबालिकालाई बालविवाह तथा बालश्रमबारे सचेतना अभिबृद्धि गराइएको बताएकी छन् ।

उपमहानगरको विकट १ नम्बर वडाको नकौलीस्थित कालिका आधारभूत विद्यालयकी शिक्षक पवित्रा दाहालले विद्यालयमा झ्याल, ढोका र खानेपानीको अभाव रहेको जानकारी दिइन् । विद्यालयमा डेस्क बेञ्चको समेत अभाव रहेको र गर्मी समयमा विद्यालयलाई जस्ताको छानामुनी राखेर पढाउन नसकिने गुनासो गरिन् ।

बालबोध माविका शिक्षक रमेशकुमार रानाले बालमैत्री तथा अपाङमैत्री भौतिक संरचना भएको जानकारी दिए । उनले भवन, खानेपानी, शौचालयको पर्याप्त सुविधा भएपनि विद्यालयको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन भने नसकेको गुनासो पोखे । १७ नम्बर वडाको लक्ष्मी आविका शिक्षक रमेशकुमार घिमिरेले बालमैत्री संरचनादेखि बाल समूह विगतदेखि नै सक्रिय भइरहेको बताए । ११ नम्बर वडाको त्रिभुवन माविका शिक्षक नारायणप्रसाद कंडेलले बाल समूह सक्रिय गराउँदै रचनात्मक क्रियाकलापमासमेत जोड दिइएको बताए ।

विद्यालयहरुको अवस्था बुझेपछि उपमहानगरकी सामाजिक विकास महाशाखा प्रमुख लामिछानेले विद्यालय तथा शिक्षकहरुले बालमैत्री अभियानलाई थप बोझ र छुट्टै परियोजनाका रुपमा लिन नहुनेतर्फ सचेत गराएकी छन् । बालमैत्री अभियान सञ्चालन नभएको खण्डमा पनि विद्यालय र शिक्षकहरुले बालमैत्री वातावरणमा पठनपाठन गर्नुपर्ने दायित्व रहने भन्दै बाल संरक्षण मुख्य उद्देश्य रहेको उनले बताइन् । लामिछानेले विद्यालयको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइनुपर्नेमा जोड दिइन् ।

उनले उपमहानगरका १९ वटा वडामध्ये १५ नम्बर वडाबाहेक सबै वडामा अभियान सञ्चालन भइरहेको र ५ वटा वडामा सञ्जाल गठन भइसकेको जानकारी दिइन् । अभिमुखीकरण कार्यक्रममा लामिछानेले १४ वटा बालबचाउ सम्बन्धी सूचक, १० वटा बाल संरक्षण सूचक, ६ वटा बाल विकास सूचक र १५ वटा संस्थागत विकास सम्बन्धी सूचकबारे शिक्षकहरुलाई जानकारी दिएकी छन् । उपमहानगरपालिकाले बालमैत्री संरक्षक शिक्षकहरुको लागि बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको दोस्रो चरण २, ४, ६, ८, १०, १२, १४, १६ र १८ नम्बर वडाका विद्यालय र शिक्षकसँग गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*