मकवानपुरका सुमार्गी र कटुवाल उम्मेदवार
हेटौंडा– काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको २८ र २९ मा साधारणसभा तथा निर्वाचन हुँदैछ । निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ ।
व्यवसायीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनपछि महासंघको २० औं अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आउने छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । जसकारण महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा प्रतिष्ठाको लडाई हुने गर्दछ । वरिष्ठ उपाध्यक्ष पदमा ३ जना व्यवसायी उम्मेदवार बनेका छन् । जसमध्ये जित्ने एकजना २१ औं अध्यक्ष हुनेछन् । यसैगरी, निर्वाचनमा मकवानपुरबाट एक पदाधिकारी र एक केन्द्रीय सदस्यमा दुईजनाको उम्मेदवारी परेको छ ।
महासंघमा जिल्ला नगरतर्फको केन्द्रीय उपाध्यक्षमा हेटौंडाका चर्चित व्यवसायी अरुणराज सुमार्गी उम्मेदवार रहेका छन् । महासंघको कुल तीन उपाध्यक्षमा ८ प्रतिस्पर्धी रहेका छन् । महासंघको विधानले तीन फरक व्यावसायिक क्षेत्रमा तीनजना उपाध्यक्षको व्यवस्था गरेको छ । जिल्ला–नगर उवासंघ, एसोसिएट र वस्तुगत उपाध्यक्षका ८ उम्मेदवार छन् । वाणिज्यतर्फ सुमार्गीसँगै सुरकृष्ण वैद्य, दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् । यस्तै वस्तुगत उपाध्यक्षमा सकुन्तला हिराचन, मनिषलाल प्रधान र मेहराज ढकाल उम्मेदवार छन् । एसोसिएट उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुनेछ ।
तीन उपाध्यक्ष पदका ८ उम्मेदवारमध्ये जिल्ला–नगरका दिनेश श्रेष्ठ, वस्तुगतका हेमराज ढकाल र एसोसिएट्सका भरत आचार्य, उमेशलाल श्रेष्ठ प्यानलका हुन् । यस्तै अञ्जन श्रेठ प्यानलमा सुरकृष्ण श्रेष्ठ र अरुणराज सुमार्गी छन् । जिल्ला–नगर उपाध्यक्षका उम्मेदवार सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षका सुकुन्तलाल हिराचन र एसोसियट्सका ज्योत्सना श्रेष्ठ, रामचन्द्र संघाइ प्यानलका हुन् ।
जिल्ला नगरतर्फबाटै केन्द्रीय सदस्यमा मकवानपुरका कृष्ण कटुवाल उम्मेदवार छन् । सुमार्गी र कटुवाल दुवै मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधित्व गरेर चुनावी मैदानमा होमिएका हुन् । निर्वाचनमा जिल्ला नगरतर्फ १ सय १८ मत रहेको छ । जसमा निर्वाचन जित्न बुहमत अर्थात ६० मत कटाउनु पर्नेछ । जिल्ला नगरतर्फ एक उपाध्यक्ष र १८ जना खुल्ला केन्द्रीय सदस्यका लागि सुमार्गी र कटुवालले उम्मेदवारी दिएका हुन् । सुमार्गी मकवानपुर उद्योग वाणिज्य संघ र प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै महासंघको केन्द्रीय सदस्य भएका थिए ।
कटुवाल मकवानपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष हुन् । सुमार्गी र कटुवाल दुवै अञ्जन श्रेष्ठको प्यानलबाट उम्मेदवार बनेका हुन् । निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षबाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदैछ । उमेशलाल श्रेष्ठ क्वेस्ट फर्मासिटिकल्सका प्रबन्ध निर्देशक हुन् भने अन्जन श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । यस्तै, रामचन्द्र संघई त्रिवेणी समूहका निर्देशक हुन् ।
निर्वाचनले ६४ सदस्यीय जम्बो टोली निर्वाचित गर्नेछ । निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्षसहित जम्बो टोली निर्वाचित गर्दैछ । निर्वाचनबाट एसोसिएटतर्फ १९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यस्तै, जिल्ला÷नगरतर्फ १८ जना र वस्तुगतमा १४ जना केन्द्रीय सदस्य समेत निर्वाचनबाट निर्वाचित हुनेछन् । यसका साथै, द्विराष्ट्रिय सदस्य १ जना हुनेछन् भने ७ वटा प्रदेशत अध्यक्ष स्वतः सदस्य बन्नेछन् । प्रदेशतर्फका अध्यक्ष निर्वाचित भइसकेपनि पद बहाल भने निर्वाचनपछि नै गर्नेछन् । यसबाहेक, महासंघका अध्यक्षले ५ जना मनोनित गर्नेछन् भने एकजना निवर्तमान अध्यक्ष समेत कार्यसमित सदस्य रहनेछन् ।
यसअनुसार चैत २९ गतेको निर्वाचनले ६४ जनालाई निर्वाचित गर्नेछ भने ७ प्रदेशका र अध्यक्षले मनोनित गर्ने र निर्वतमान अध्यक्ष समेत गरी कूल ७७ जनाको जम्बो कार्यसमितिले आगामी ३ वर्ष महासंघको नेतृत्व हाँक्नेछ । निर्वाचनमा २ हजार मतदाता छन् । एसोसिएटतर्फ १ हजार ७ सय ४८ जना मतदाता छन् भने जिल्ला नगरतर्फ १ सय १८ जना मतदाता छन् । यस्तै, वस्तुगततर्फ १ सय २३ जना मतदाता छन् भने द्विराष्ट्रिय मतदाताको संख्या १२ छ । निर्वाचनमा उठेका उम्मेदवारले जीत हासिल गर्नका लागि खसेकोमध्ये कम्तिमा ५१ प्रतिशत मत ल्याउनुपर्छ । यसमध्ये वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारलाई सबै समूहका मतदाताले मत दिन पाउनेछन् ।
महासंघको विधानले जिल्लानगर, वस्तुगत र एसोसिएट गरी ३ समूहमा विभाजन गरेको छ । यो तीनवटै समूहले वरिष्ठ उपाध्यक्षलाई मत दिन पाउनेछन् । यसअनुसार, जिल्लानगरतर्फको मतभार ५० प्रतिशत, वस्तुगतको ३० एसोसिएटतर्फको मतभार २० प्रतिशत कायम गरिएको छ । वरिष्ठ उपाध्यक्ष बाहेकका उम्मेदवारको हकमा भने आ–आफ्नै समूहले मात्रै मतदान गर्न पाउनेछन् ।