मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यानका चालक निलम्बन
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार राप्तिरोडमा बुधवार साँझ दुईवटा मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यानका चालक निलम्बनमा परेका छन् ।
प्रहरी भ्यान लापरबाहीसँग चलाउँदा दुर्घटना हुन पुगेको भन्दै चालकलाई निलम्बन गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट भीमफेदी कारागारको लागि थुनुवा लिई हिँडेको बागमती प्रदेश ०३–००१ झ ०१२३ नम्बरको मोबाइल गाडी कास्की दरबन्दी भई मकवानपुरमा चालकको रुपमा कार्यरत प्रहरी जवान बिबेक नेपालीले चलाएका थिए ।
दुर्घटनामा दुईजना घाइते भएको घटना सम्बन्धमा अनुसन्धान गर्दा चालक नेपालीले लापरबाहीपूर्ण तरिकाले सवारी चलाएको देखिएको भन्दै आवश्यक कारबाहीका लागि १६ चैतबाट लागु हुनेगरी निलम्बन गरिएको प्रवक्ता तथा प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी भ्यानले बुधवार साँझ ७ बजे ना ४९ प ११९ र बागमती प्रदेश ०३–००५ प ३०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा–५, गर्दोईका ४९ वर्षीय सुरेशराज बज्राचार्य र हेटौंडा–५, पिप्लेका ४५ वर्षीय मधु अर्याल घाइते भएका थिए । उनीहरुको हेटौंडा अस्पताल र मोडल अस्पतालमा उपचार गरिएको थियो ।
राप्ति रोडमा मोटरसाइकललाई ठक्कर दिएर प्रहरी भ्यान १ नम्बर वडास्थित चौकिटोलतर्फ भागेको थियो । अन्य सवारीसाधनलाई ठक्कर दिएर भाग्नेलाई समाउने पर्ने प्रहरी नै भागेपछि न्याय खोज्न कहाँ जाने भन्दै स्थानीयले बुधवार साँझ मुख्य बजारको बुद्धचोकदेखि प्रहरी कार्यालयसम्म आन्दोलन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउसमेत गरेका थिए ।
सयौंको संख्यामा रहेका आक्रोशित स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै हेटौंडास्थित पूर्व–पश्चिम राजमार्गसमेत अबरुद्ध गरेका थिए । प्रहरी भ्यानका चालकले मादकपदार्थ सेवन गरेको आशंका आन्दोलनरत स्थानीयको छ । प्रहरी भ्यान तीव्रगतिमा रहेको उनीहरुले बताएका छन् । तर, मकवानपुर प्रहरीले दुर्घटनाको कारण भने बाहिर ल्याएको छैन ।