राक्सिराङमा बोलेरो दुर्घटना, ६ जना घाइते
हेटौंडा– जिल्लाको विकट राक्सिराङ गाउँपालिका–५ चौतारास्थित भित्रि सडक खण्डमा बोलेरो जिप दुर्घटना भएको छ ।
बिहीवार चैनपुरबाट राक्सिराङको बंकिङ चौतारातर्फ जाँदै गरेको ना ४ च ४२७३ नम्बरको यात्रु र सामान बोकेको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ४०\५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीकाअनुसार बोलेरो दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । बोलेरोमा ८ जना सवार रहेका थिए । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
राक्सिराङ गाउँपालिका–४ बस्ने ४० वर्षीय सञ्चलाल घलान गम्भीर घाइते भएका हुन् । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि चितवन लगिएको छ ।
राक्सिरा घर भएका १२ वर्षीय बिक्रम घलानको खुट्टा भाचिएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको जनाइएको हो । २१ वर्षीया सानुमाया घलानको खुट्टा र पेट दुखेको छ । दुर्घटनामा परी घाइते भएका अन्य ३ जनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेलाई उपचारका लागि भरतपुर चितवनतर्फ पठाईएको र जीप घटना स्थलमा नै रहेको तथा चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए ।