सञ्चो हस्पिटलको ल्याबमा प्रशासनको ताला
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१, स्थित सञ्चो हस्पिटल प्रालिले गैरकानुनीरुपमा ल्याब सञ्चालन गरेको भन्दै प्रशासनले ताला लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार हस्पिटलमा अनुगमन गर्दै ताला लगाएको हो ।
अस्पतालले मापदण्डविपरित ल्याब सञ्चालन गरेको प्रशासनले जनाएको छ । हेटौंडा–१, स्थित भाडाको घरमा सञ्चो हस्पिटलले पूर्ण रुपमा मापदण्ड पूरा नगरेको सूचना बाहिरिएपछि प्रशासनको नेतृत्वमा सोमबार औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयसहितको सहभागितामा अनुगमन गरिएकोथियो ।
अनुगमनका क्रममा ल्याब मापदण्ड विपरित सञ्चालन भइरहेको पाएपछि ताला लगाइएको प्रशासनका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए । उनले ल्याबको अनुमति नल्याएसम्म सञ्चालन नगर्न निर्देशन दिइएको बताए ।
अनुगमनका क्रममा हस्पिटलको आकस्मिक कक्षमा म्याद गुज्रिएका औषधि फेला परेको छ । औषधि व्यवस्था कार्यालय वीरगञ्जले म्याद गुज्रिएका औषधिको सम्बन्धमा कानुनी कारबाही अघि बढाउने भएको न्यौपानेले बताए । यसैगरी, हस्पिटलले दुई वर्षदेखि आन्तरिक राजश्व कार्यालयमा कर नतिरेको पाइएको छ ।
फार्मेसी सञ्चालनको अनुमति रहेको तर, नवीकरण भने नगरेको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । ३ दिनभित्र फार्मेसी नवीकरण गर्न निर्देशन दिइएको र नवीकरण नगरे बन्द गरिने न्यौपानेले बताए ।
हस्पिटलका अध्यक्ष विजय पुडासैनीले ल्याबको कागजात राखेको ठाउँमा नभेटिएपछि प्रशासनले हतारमा ताला लगाइदिएको बताए । ‘ल्याबको अनुमति थियो, अनुगमन टोलीलाई देखाउने बेलामा कागज भेटिएन, म पनि भर्खरै आउँदैछु, ताला लगाएर जानुभएको रहेछ’, पुडासैनीले भने । उनले हस्पिटलको आईसीयू र एचडीयूमा बिरामी रहेको तर, प्रशासनले ल्याबको ताला लगाइ दिएकोले समस्या भएको गुनासो गरे ।