डेंगु नियन्त्रण गर्न उपमहानगरले थाल्यो ‘स्प्रे अभियान’

संवाददाता
फाल्गुन २९, २०७९

हेटौंडा– लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट नगरबासीलाई सुरक्षा दिन हेटौंडा उपमहानगरपालिकाले स्प्रे अभियान थालेको छ । गर्मी बढ्न सुरु भएसँगै लामखुट्टे आउने भएकाले उपमहानगरपालिकाले पहिल्यै डेंगु नियन्त्रण गर्ने योजना अघि सारेको हो ।

यसवर्षकै गर्मी समयमा डेंगुले हेटौंडा त्रासमय बनेको थियो । डेंगु संक्रमणकै कारण एक जनाको मृत्युसमेत भएको थियो । डेंगुले यसअघि धेरै नगरबासी प्रभावित भएपछि उपमहानगरपालिकाले गर्मी सुरु हुन लाग्दा नै डेंगु नियन्त्रण गर्ने योजना बनाएर काम सुरु गरेको उपमहानगरकी प्रमुख मिनाकुमारी लामाले जानकारी दिइन् ।

उनले नगरबासीलाई डेंगुलगायत रोकबाट बचाउने प्रमुख दायित्व उपमहानगरपालिका कार्यालयको रहेको बताइन् । लामाकै निर्देशनमा नगर प्रहरीहरुले डेंगु संक्रमण नियन्त्रणका लागि ‘स्प्रे अभियान’ सुरु गरिसकेका छन् ।

गत वैशाखदेखि असोजसम्म देखिएको डेंगुको संक्रमणले नगरमा फैलिएको त्रास रोक्न यसपटक समयमै ‘स्प्रे अभियान’ सञ्चालन गरेर डेंगु नियन्त्रण गर्न सकिने उद्देश्यले अभियान सञ्चालन गरेको उपमहानगरको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत अनन्त बाँस्कोटाले बताए ।

हेटौंडा–२ मनकामना चोकबाट आइतबारदेखि सुरु गरिएको स्प्रे चौकीटोल ओरालो, बजारको मुख्य क्षेत्र मेनरोड, फरेष्ट्री गेट, रजत जयन्ती चोकबाट पारिजातपथ र राप्तिरोडको चाइनाक्वार्टरसम्म पुगेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

स्प्रेका लागि उपमहानगरले बाहिरी भागमा रहेका लामखुट्टे मार्न ५ वटा ‘स्प्रे गन’ मेसिन र किटनाशक औषधिकोे प्रयोग गरेको छ । उपमहानगरले महामारी नियन्त्रण शाखाबाट ल्याएको लामखुट्टे मार्नका लागि प्रयोग हुने झोल औषधिको प्रयोग गरेर अभियान सञ्चालन गरिरहेको शाखाले जनाएको छ ।

शाखाका अनुसार अहिले लामखुट्टे नियन्त्रणका लागि प्रयोग भैरहेको औषधिले मानव स्वास्थ्यमा नकारात्मक असर नहुने बताइएको छ । लामखुट्टे देखिएसँगै अहिले केही संख्यामा डेंगुको संक्रमण देखिन थालेको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*