हेटौंडा–बनेपा जोड्न नयाँ द्रुतमार्ग, डीपीआर बनाउँदै चार पालिका
हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडा र काभ्रेको बनेपा जोड्न नयाँ द्रुतमार्गको परिकल्पना गरेर सडक निर्माण योजना अघि सारिएको छ ।
बागमती गाउँपालिकाको फापरबारी बजारबाट बेतिनी हुँदै ललितपुरको महांकाल गाउँपालिका र काभ्रेको बेथानचोक गाउँपालिकादेखि बनेपासम्म करिब ७० किलोमिटरको सडक निर्माण हुने भएको हो ।
काभ्रेसहित ललितपुरका स्थानीयलाई तराईका जिल्लासँग र प्रदेश राजधानी हेटौंडा आउन सहज हुने गरी द्रुतमार्ग निर्माणको योजना अघि सारिएको हो । ललितपुरको महांकाल गाउँपालिका अध्यक्ष गणेबहादुर केसीले साझाकुरासँग कुरा गर्दै हेटौंडा र बनेपा जोड्न नयाँ द्रुतमार्ग निर्माणको योजना अघि सारिएको जानकारी दिए ।
ललितपुर र काभ्रेबाट तराई पुग्न अरनिको राजमार्ग हुँदै बर्दिबास पुग्नुपर्ने बाध्यता छ । अरनिको राजमार्गबाट करिब ५ घण्टाको यात्रा गर्नुपर्ने अवस्थामा फापरबारीदेखि बनेपासम्मको सडक निर्माण गर्न सके द्रुतमार्ग हुने अध्यक्ष केसी बताउँछन् । उक्त सडकलाई सडक क्षेत्रमा पर्ने चार वटा पालिकाहरुले साझा कार्यक्रमका रुपमा काम गर्ने निर्णय गरेको छ ।
केही दिनअघि मकवानपुरको बागमती गाउँपालिकामा चार वटा पालिकाको छलफलबाट आ–आफ्नो क्षेत्रमा सडकको डीपीआर गर्ने निर्णय भएको हो । बागमती गाउँपालिकाले फापरबारी हुँदै ललितपुरसम्मको सडकको डीपीआर गर्नेछ ।
बेथानचोक गाउँपालिका काभ्रे, ललितपुरको महांकाल गाउँपालिका र बागमती गाउँपालिका, मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका गरी चार वटा पालिकाले सडक निर्माणलाई साझा योजनाका रुपमा अगाडि बढाउने निर्णय गरेको अध्यक्ष केसीले जानकारी दिए ।
मकवानपुरसँग सीमाना जोडिएको ललितपुरबाट उता काभ्रेसम्मको डीपीआर त्याहाँ स्थित पालिकाहरुले भूगोल निर्धारण गरेर डीपीआर निर्माण गर्ने निर्णय भएको थियो ।
अध्यक्ष केसीका अनुसार फापरबारीदेखि ललितपुर सिमानासम्म सडकको ट्रयाक बनिसकेको छ । ललितपुरको महांकाल गाउँपालिका वडा नम्बर ६ मा करिब ७ किलोमिटर क्षेत्रमा नयाँ ट्रयाक खोल्न बाँकी रहेको अध्यक्ष केसीले बताए ।
गाउँपालिकाले छिट्टै नयाँ ट्रयाक खोल्ने जानकारी दिए । सडकलाई स्तरोन्नती गर्दै दुई लेनमा कालोपत्रे गरिने उनी बताउँछन् । चारवटै पालिकाले डीपीआर बनाएर संघीय सरकारलाई आवश्यक बजेट व्यवस्थाका लागि माग गरिने केसीले जानकारी दिए ।
उक्त सडक निर्माण भएमा काभ्रे र ललितपुरबासीलाई मकवानपुरको बागमती गाउँपालिकाको राईगाउँ हुँदै सर्लाही पुग्न निकै छोटो दुरी पर्ने केसीले बताए । धरान–चतरा सडकखण्डबाट हेटौंडा पुग्न पनि नजिक हुने उनले बताए । मकवानपुरबासीलाई समेत ललितपुर आउन र बनेपा पुग्न उक्त सडक निक्कै छोटो हुने अध्यक्ष केसीले बताए ।
भित्री द्रुतमार्गको योजना अनुसार बेथानचोक गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको स्तरोन्नती गर्न सुरु गरिसकेको छ ।
मकवानपुरको छिमेकी जिल्ला काभ्रेको बेथानचोक गाउँपालिकालाई बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंसँग जोड्ने सडकमार्गको स्तरोन्नती सुरु गरिएको छ ।
बेथानचोकको मुसेखोल्सा–चलाल गणेशस्थान सडकखण्डको स्तरोन्नती सुरु भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । गत ३० वैशाखमा निर्वाचित भएसँगै गाउँपालिका अध्यक्ष अधिकारीले यस सडकलाई प्रदेश राजधानी हेटौंडासम्म बिस्तार गर्ने योजना तयार गरेका थिए ।
गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष मधुसुदन तिमल्सिनाले बनेपा–पनौती–ढुंखर्क–च्याम्राराङ्वेशी–ठुलादुर्लुङ–फापरबारी–धरान चतरा जोड्ने सडक निर्माणका लागि काभ्रे र मकवानपुरका चारवटा स्थानीय तहले छलफल गरेको बताए ।
सडक निर्माण भइसकेपछि बनेपाबाट हिँडेको बस बागमती गाउँपालिकास्थित धरान–चतरा सडक खण्डमा आइपुगेर हेटौंडाको यात्रा तय गर्नेछन् ।
बेथानचोकको चलाल गणेस्थानदेखि गेल्लुङसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ । बाँकी ३ दशमलव ५ किलोमिटर सडकखण्डको स्तरोन्नतीको सुरुवात बुधबार गरिएको तिमल्सिनाले बताए ।
गाउँपालिकाका प्रवक्ता तिमल्सिनाका अनुसार आगामी जेठ २५ भित्र सम्पन्न गर्ने गरी जोशी जी र घिसिङ जेभीलाई कालोपत्रे तथा ढलानको ठेक्का दिइएको छ ।
ल्याब टेस्ट गराएर गुणस्तरीय निर्माण सामग्रीहरुमात्रै कालोपत्रेका लागि प्रयोग गरिने उनले बताए । त्यस्तै, खोलाकिनारमा जाली ओछ्याउने, यसअघि बनाइएका ड्रेन बनाउने र नयाँ ठाउँमा ड्रेन बनाउने काम पनि हुनेछ ।