कोइला अभावले हेटौंडा सिमेन्टको उत्पादन बन्द
हेटौंडा– कोइला अभाव हुँदा सरकारी स्वामित्वको हेटौंडा सिमेन्टको उत्पादन रोकिएको छ । आर्थिक अभावले ग्रस्त बनेको हेटौंडा सिमेन्ट उद्योग यसअघि पनि पटक पटक बन्द हुँदै आएको थियो ।
उद्योग सञ्चालनको लागि कोइला अभाव भएपछि पुनः उद्योगको सिमेन्ट उत्पादन रोकिएको हो । विगत ४ वर्षदेखी निरन्तर घाटा व्यहोरिरहेको उद्योगले कोइला खरिद गर्न नसकेको जनाएको छ । उद्योगका महाप्रवन्धक वसन्त पाण्डेको अनुसार आर्थिक अभावको कारण उद्योगले समयमा कोइला आपुर्ति गर्न नसक्दा सिमेन्ट उत्पादन रोकिएको छ ।
हाल उद्योगले विभिन्न देशबाट कोइला आपुर्तिको पहल गरिरहेको भएपनि कोइला खरिद गर्ने रकम उद्योगसँग नभएको पाण्डेको भनाई रहेको छ । उद्योगले यसअघि कोइला खरिद गरेको करिव २० करोड रुपैयाँ अझै तिर्न सकेको छैन । जसले गर्दा कोइला आपुर्ति हुन नसकेको पाण्डेले बताए । करिव २० दिनदेखि बन्द भएको उद्योगले हालसम्म १५ सय टन कोइला संकलन गरेको छ ।
उद्योगलाई उत्पादन सुरु गर्न दैनिक एकसय २५ टन कोइला आवश्यक पर्छ । दुई हजार टन कोइला संकलन भएपछि उद्योगको उत्पादन पुनः सुरु गर्ने पाण्डे बताउनुहुन्छ । तर,त्यसपछि उद्योगलाई निरन्तर सञ्चालन गर्नको लागि भने ठूलो बजेटको आवश्यक पर्ने उनको भनाई छ ।
उद्योगले ४ वर्षमा करिब ८० करोड रूपैयाँ घाटा बेहोरेको छ । उत्पादनमा गिरावट र उत्पादित सिमेन्ट पनि बिक्री नहुने समस्याले उद्योग निरन्तर घाटामा छ । गत आव ०७८–७९ मा मात्रै उद्योगले करिब साढे २३ करोड रूपैयाँ बराबर घाटा बेहोरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । गत आवमा १ अर्ब २२ करोड आम्दानी गरेको उद्योगले १ अर्ब ३९ करोड खर्च गरेको छ ।
उद्योगले आव ०७४–७५ मा १६ करोड ३६ लाख नाफा कमाएको थियो । त्यसयता उद्योग निरन्तर घाटामा छ । आव ०७५–७६ मा उद्योगले १ करोड ५ लाख, आव ०७६–७७ मा २३ करोड ८२ लाख, आव ०७७–७८ मा थप १७ करोड ४ लाख नोक्सान बेहोरेको उद्योगले जनाएको छ ।
उद्योगमा गत आव ०७८–७९ मै उत्पादन भएको सिमेन्टसमेत बिक्री नभएर थन्किएको छ । उनले निजी उद्योगहरूले सिमेन्टको मूल्य घटाएपछि हेटौंडा सिमेन्ट बिक्री हुन नसकेको बताए । उद्योगले मूल्य घटाउँदा पनि सिमेन्ट बिक्री हुन सकेको छैन ।
चार वर्षदेखि निरन्तर घाटामा चलिरहेको उद्योगले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न भन्दै ४० रुपैयाँ घटाउँदा पनि बिक्री नभएको हो । मूल्य घटाए पनि सिमेन्टको बिक्री अपेक्षाकृत रूपमा नभएको महाप्रवन्धक बताए ।
करिब ९ सय रूपैयाँ लागतमा सिमेन्ट उत्पादन गर्ने उद्योगले ७४७ रूपैयाँ प्रति बोरा सिमेन्ट बिक्री गर्दै आएको थियो । तर सिमेन्ट बिक्री नभएपछि उद्योगले प्रतिबोरा ४० रुपैयाँ घटाएको थियो । उद्योगले बोरामा २०० रुपैयाँको हाराहारीमा घाटा व्यहोरिरहेको पाण्डेले बताए ।
आर्थिक अभावको दलदलबाट निस्किन नसकेपछि उद्योले रोप–वे लिलामी गर्ने तयारी गरेको छ । हाल साढे ६ सय टन रोप–वे को कवाडी लिलामीको लागि उद्योगले सूचना प्रकाशन गरिसकेको छ । ३ चरणमा लिलामी गर्ने तयारी गरेको उद्योगले बुधबारसम्मको समय दिएको छ । महाप्रवन्धक पाण्डेको अनुसार उद्योगले लिलामीको लागि बुधबार दिउँसो १२ बजेसम्मको समय दिएको छ ।
सोहि दिन दिउँसो ३ बजे उद्योगले लिलामी खुल्ला गर्ने पाण्डेले बताए । ‘उद्योगको आर्थिक समस्या टार्नको लागि हामीले रोप–वे लिलाम गर्न लागेका छौ । बुधबार दिउँसो ३ बजे हामी लिलाम खुल्ला गछौ’, उनले भने । उद्योगले यसअघि पनि कयौंपटक रोप–वे लिलाम गर्न खोजेपनि बिक्री हुन सकेको थिएन ।
भैंसेखानीबाट चुनढु+uf बोक्न प्रयोग हुँदै आएको रोपवे उपकरण २०६१ सालयता बन्द अवस्था छ । रोपवेको टावर, तार, तथा बस्ती माथि झुन्डिएका डब्बाले दुर्घटनाको जोखिमसमेत बढेको छ । पटक–पटक बोलपत्र आह्वान गर्दा पनि खरिदकर्ता नआएपछि उद्योगले लिलामी दर पनि घटाउँदै आएको थियो ।
करिव ८ वर्षअघि पहिलोपटक जारी गरेको सूचनामा रोपवे र जगेडा पाटपुर्जाका लागि मूल्यअभिवृद्धि कर बाहेक न्यूनतम मूल्य ६ करोड १६ लाख ५३ हजार ३ सय ५२ रुपैया कायम गरेको थियो ।
खरिदकर्ताको अनिच्छापछि उद्योगले दोस्रोपटक ४ करोड ६१ लाखमा झारेको थियो । पछिल्लोपटक करिब ४ वर्षअघि उद्योगले मूल्य घटाएर २ करोड ८० लाख कायम गरे पनि कुनै बोलपत्र परेको थिएन । यो पटक उद्योगले लिलाम रकम गोप्य राखेको जनाएको छ ।
उद्योगले भैंसेदेखि उद्योगसम्म प्रयोगमा नरहेको ११ किलोमिटर रोपवेको सिस्टम तथा भण्डारणमा रहेको जगेडा पाटपुर्जा बिक्रीका लागि प्रक्रिया सुरु गरेको थियो ।
उद्योगले आफ्नो उत्पादन सुरुवातसँगै २०४३ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्म चुनढु+uf ढुवानी गर्न सञ्चालनमा ल्याइएको रोपवे २०६१ सालदेखि बन्द छ । २०६० सालमा आएको बाढीपहिरोले भैंसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो ।
करिब ८ करोडको लगानीमा निर्माण भएको रोपवेको आर्थिक भार थेग्न नसकेपछि रोपवे बन्द गर्नुपरेको उद्योगले जनाएको छ । ८ करोडमा स्थापना गरेको रोपवे मर्मतमै करोडौं खर्च हुने भएपछि बिक्री गरेर आर्थिक समस्या टार्ने विकल्प सोचेको हो ।
२०४३ सालबाट २ दशकसम्म भैंसेखानीबाट चुनढुङा ढुवानी गरेको रोपवे बाढीले भत्काएपछि सञ्चालन हुन सकेको थिएन । प्रतिघन्टा ३ सय मेट्रिक टन चुनढु+uf ढुवानी गर्ने क्षमता रहेको रोपवेको सुरुमा एक सय ६५ वटा वकेट (क्यारियर) रहेकोमा बिग्रिएर झर्दै गएपछि १ सय ४० जति बाँकी रहेको उद्योगले जनाएको छ ।