मकवानपुर गोल्डकपको तयारी पूरा, उद्घाटनमा मकवानपुर र सिमरा भिड्ने

संवाददाता
माघ २६, २०७९

हेटौडा– यही माघ २८ देखि फागुन ११ गतेस्म्म हुने स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको पाँचौं संस्करणको तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–५, स्थित पिप्ले क्याम्पा रंगशालामा हुने गोल्डकपको तयारी बारे जानकारी दिन बिहीवार पत्रकार सम्मेलन गरिएको थियो । संघका अध्यक्ष टिका लामाले प्रतियोगिताको तयारी सकिएको बताए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले राष्ट्रियस्तरको गोल्डकप आयोजनाले जिल्लाको पहिचान दिलाएको बताए । उनले गोल्डकप आयोजनाले खेलाडी उत्पादनमा मद्दत पुगेको बताए ।

मकवानपुर गोल्डकपलाई सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै जिल्लाका सम्बन्धित स्थानीय तहहरुले पनि आ–आफ्नो क्षेत्रमा खेलकुद गतिविधिलाई प्राथमिकतामा दिएकोमा खुशी व्यक्त गरे ।

उनले जिल्लाका गाउँगाउँबाट खेलाडी उत्पादन गर्नुपर्नेमा सबै पालिकाहरु एकजुट हुनुपर्नेमा जोड दिए । साथै ४ नम्बर वडाले वडास्तरमै खेलकुदसँगै शैक्षिक क्षेत्रमा धेरै काम गरिरहेको बताए ।

आयोजकले यसअघि प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको थियो । खेल तालिकाअनुसार २८ माघमा हुने उद्घाटन खेलमा मकवानपुर सिमरा भिड्ने भएका छन् ।

उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा, बारा र रिगल रिसोर्ट हेटौडा मकवानपुर–११ बीच हुने संघका सुनिल लोप्चनले जानकारी दिए ।

प्रतियोगिताको मैदान व्यवस्थापन लगायत आवश्यक भौतिक पूर्वाधारका कामहरु पनि सबै सम्पन्न भईसकेको लोप्चनले जानकारी दिए ।

ए डिभिजन क्लब, मोफसलका टोली र एक विदेशी गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही २५–२५ हजारसहित ट्रफी हात पार्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*