हेटौंडा–काठमाडौं जोड्ने छोटोमार्गको स्तरोन्नती छिट्टो सक्न प्रदेश सरकारको निर्देशन

संवाददाता
माघ २५, २०७९

हेटौंडा– काठमाडौं जोड्ने छोटोमार्ग अन्तर्गत् तीन चरणमा भइरहेको कामबाट उल्लेख्य भौतिक प्रगति नदेखिएपछि प्रदेश सरकारले चासो लिएको छ ।

बागमती प्रदेशभित्र रहेको संघीय र प्रदेश राजधानी जोड्ने छोटोमार्ग कन्तबिजोग अवस्थामा छ । भैंसेदेखि फर्पिङसम्म तीन चरणमा काम भइरहेका छन् । भैंसे–भिमफेदी, हुमानेभञ्ज्याङ–फर्पिङ खण्ड र सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको काम भइरहेका हुन् ।

भैंसेदेखि भीमफेदीसम्म र सिस्नेरी सडक खण्ड स्तरोन्नतीका लागि भौतिक प्रगति भएपनि हुमाने र फर्पिङ खण्डको काम भएको छैन् । छोटो मार्गको फाखेलतर्फ धेरै सवारीसाधन गुड्ने गरेका छन् ।

फाखेल क्षेत्रमा औसन सडक राम्रो भए पनि हुमानेदेखि फर्पिङसम्मको खण्ड अत्यन्तै जेखिमयुक्त रहेको छ । हुमानेदेखि फर्पिङसम्मको खण्डमा धेरै सवारी दुर्घटनासमेत हुने गरेको छ ।

करिब दुई वर्ष अघिदेखि निर्माण सुरु गइरहेको उक्त मार्ग हालसम्म स्तरोन्नती हुन नसकेको हो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा युवराज दुलाल आएसँगै छाटोमार्ग स्तरोन्नतीमा गति लिने विश्वास गरिएको छ ।

मंगलबार प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु र सरोकारवाला निकायबीच छोटोमार्गको विषयमा छलफल भएको छ । हेटौंडा–भिमफेदी–हुमाने–फर्पिङ सडक खण्डमा निर्माण व्यवसायीहरुले समयमै सम्पन्न गर्नेगरि काम नगरेको र स्थानीयहरुबाट उत्पन्न समस्याका विषयमा छलफल गरिएको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दुलाल, श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले कामको प्रगति बारे जानकारी लिएका थिए ।

छलफलमा बोल्दै बागमतीका मुख्यमन्त्री जम्कट्टेलले काम नगर्ने मनासय बोकेका ठेकेदारलाई अब समय थप नहुने बताएका छन् । काम गर्दैजाँदा समय नभएर ढिला भएको भए समय थप गर्न सकिने तर कामै नगरी समय थपको माग गर्ने ठेकेदारहरुलाई समय थप गर्न नसकिने उनले बताए ।

मुख्यमन्त्री जम्कट्टेलले देशको राजधानी काठमाडौंबाट प्रदेशको राजधानी हेटौंडा जोडने सडकको स्तरोन्नती दुई महिनाभित्र सक्न निर्देशन दिए ।छलफलबाट भैंसेदेखि फर्पिङसम्म भइरहेका निर्माणका कामलाई तीव्रता दिने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री दुलालले जानकारी दिए ।

भैंसे–भिमफेदी र हुमाने–फर्पिङ खण्डको काम सम्पन्न गर्न र सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको काम द्रुत गतिमा सम्पन्न गर्ने निर्णय पनि भएको छ । दुवै सडक निर्माणलाई तिव्रता दिन फागुन १ गतेबाट करिब २ महिनासम्म यी सडक खण्डमा यातायात सेवा बन्द गर्ने निर्णय पनि गरिएको छ ।

बैकल्पिक सडकको रुपमा कान्तिलोकपथ र थानकोट–चित्लांङ–मार्खु–कुलेखानी–भिमफेदी खण्डबाट यातायात सुचारु गर्ने र यी समग्र कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ ।

निर्माण समयमै नसकिँदा छोटो मार्ग वर्षातका समयमा जोखिम बन्दै गइरहेको छ । यसअघि मनसुन परिवर्तनकै अवस्थामा पहिरो जान थालेपछि वर्षातमा छोटोमार्ग जोखिमयुक्त बनेको थियो ।

अघिल्ला वर्षहरुमा पनि पटक–पटक दर्जन बढी स्थानमा पहिरो जाँदा घण्टौँ सडक अवरुद्ध हुने गरेको थियो । तर, प्रदेश र स्थानीय सरकारले दुई राजधानी जोड्ने एकमात्र छोटोमार्गमा पहिरो रोक्ने कुनै योजना अघि सारेको छैन् । सडक निर्माण जारी भएको र काम समयमै नसक्नुले जोखिम बढेको हो ।

भीमफेदीदेखि कुलेखानी हेभीसम्मको स्तरोन्नती भइरहेको करिब १६ किलोमिटर खण्डमा भने पहिरो रोक्ने उपाय अनुसार वृक्षरोपणहरु गरिएको छ । कुलेखानी–भीमफेदी सडक स्तरोन्नती गर्न निर्माण कम्पनीले व्यापक कटिङ गरेका थिए ।

छोटोमार्गअन्तर्गत् दुर्घटनाको अति नै जोखिमयुक्त कुलेखानी–भीमफेदी सडकखण्ड, भैंसै, भीमफेदी, फाखेलदेखि फपिङसम्म पहिरोको जोखिम अझै कायम छ । यो सडकमा अत्याधिकरुपमा सवारी दुर्घटनासमेत हुने गरेको छ । सडकमा धेरै घुम्तीमोड भएकोले सवारी दुर्घटनामा पर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*