सिमभन्ज्याङमा सात वटा ताल निर्माणाधीन

संवाददाता
माघ १४, २०७९

हेटौंडा– जिल्लाको प्रमुख पर्यटकीय स्थलका रुपमा परिचित थाहा नगरपालिकाको सिमभञ्ज्याङमा सात वटा ताल निर्माण हुने भएका छन् ।
ताल निर्माण भएसँगै थाहा नगरपालिकाको पर्यटन विकासले गति लिने विश्वास गरिएको छ ।

यसअघि हेटौंडाबाट करिब २ घण्टाको मोटरसाइकल यात्रामा पुग्न सकिने थाहा नगरमा घुम्न लायक दजर्नौ क्षेत्रहरु निर्माण भएका थिए । थाहाको धार्मिक पर्यटन, पैदल यात्रा चर्चित छ । तरकारी खेतीका लागि प्रख्यात क्षेत्र थाहा नगरमा रहेको एउटा तारेभिरडाँडाबाट भने तराईदेखि पहाडसम्मका भूभाग अवलोक गर्न सकिन्छ ।

‘तारेभिर’ अर्को पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । यससँगै थाहाको समुन्द्री सतहबाट सबैभन्दा माथि अर्थात २८ हजार मिटरको क्षेत्रमा बाक्लो बसोबास रहेको सिमभञ्ज्याङ चर्चित छ ।सिमभञ्ज्याङमा हरेक वर्ष हिमपात हुने गरेको छ ।

हिउँले ढाकिएका सेताम्मे डाँडाकाँडा हेर्न आन्तरिक पर्यटकहरुको यहाँ घुइचो नै लाग्ने गर्छ । सिमभञ्ज्याङको हिमपातलगायतका थुप्रै विशेषतामा थप एउटा ताल पनि थपिने भएको छ । बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माणाधीन रहेका छन् ।

प्रदेश सरकारको ७२ लाख ६९ हजार रुपैयाँ लागतमा पहिलो चरणमा एउटा ताल निर्माण हुनेछ । थाहा नगरपालिका–४ स्थित सिमभन्ज्याङमा निर्माण हुने तालको तल्लो आधार हात्तिपाइले निर्माण लगायतका काम सम्पन्न भएको छ ।स्थानीय करुणाभूमि सामुदायिक वनको पहलमा वातावरणमैत्री र पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण प्रयास सुरु भएको हो ।

सामुदायिक वन समितिका अध्यक्ष विनोद लामाले १० वर्ष अघिबाट गरिएको प्रयास र पहलले सार्थकता पाउन लागेको बताउँदै पहिले तारजाली र ढुंगामाटोको बाँध निर्माण गर्दा स्थायी नभएका कारण पक्की पर्खाल निर्माण गर्न लागेको बताए ।

थाहा नगरपालिकाको ३ लाख र स्थानीय विकास मन्त्रालयबाट आएको साढे ७ लाख रुपैयाँबाट छड र सिमेन्ट प्रयोग नगरी वातावरण र पर्यावरणमैत्री निर्माण गरेको संरचना वर्षाले क्षति पु–याएको बताउँदै पानीको मूल निर्माणाधीन तालसँगै रहेकाले पानी अभाव नहुने लामाले बताए ।
ताल त्रिभुवन राजपाथसँगै बन्न लागेको हो । पानी जम्मागरी ताल बनाउन प्रस्तावित तालमा हात्तिपाइलेबाहेकको तीन मिटर उचाइको बाँध निर्माण गरिनेछ । पक्की बाँध निर्माणपछि करिब सय मिटर लम्बाइभन्दा बढी क्षेत्रफलको तालमा पानी संकलन हुनेछ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरका अनुसार निर्माणाधीन तालको माथि थप पाँचवटा र तल एउटा ताल बनाउने योजना रहेको छ ।

डिभिजन कार्यालयका सबइन्जिनियर रञ्जित श्रेष्ठले योजनाको करिब ६५ प्रतिशत काम सकिएको जानकारी दिँदै सिमभन्ज्याङ क्षेत्रमा हाल अधिक चिसोका कारण निर्माण रोकिएको बताए ।

‘तालमा हालेका असला माछाको उत्पादन राम्रो भएको छ, ताल निर्माणपछि बोटिङ र फिसिङको योजना छ’ लामाले भने–‘सात ताल निर्माणपछि यस क्षेत्रमा पर्यटकको बसाइसमेत लम्बिने विश्वास छ ।,’ दामन–पालुङ क्षेत्रमा पछिल्लो समय पर्यटक आउनेक्रम घटेको बताउँदै ताल निर्माण सम्पन्न भएपछि पर्यटकीय गन्तव्य बन्ने अध्यक्ष लामाले बताए ।

ताल निर्माणसँगै ताल दायाँबायाँ पैदल मार्ग निर्माण, आश्रय स्थल र सौन्दर्यीकरण गरिने योजनासमेत रहेको छ । थाहा नगरपालिका नजिकै मानवनिर्मित इन्द्रसरोबर ताल पनि रहेको छ ।

ठूलो क्षेत्रफलमा फैलिएको इन्द्रसरोबर तालले इन्द्रसरोबर गाउँपालिकासँगै थाहा नगरपालिकाको पर्यटन विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*