मकवानपुरगढीका विद्यार्थीलाई दिवा खाजामा रैथानेबालीको परिकार

संवाददाता
माघ २, २०७९

हेटौंडा– मकवानपुरगढीका विद्यालयहरुमा विद्यार्थीको सहभागितालाई बढावा दिन भूमिका खेलेको दिवा खाजा कार्यक्रममा स्थानीय रैथाने बालीको परिकार अनिवार्य गरिएको छ ।

मकवानपुरगढी गाउँपालिकाले विद्यालय दिवा खाजा कार्यक्रममा रैथानेबालीको परिकार समावेश गर्ने निर्णय गरेको छ । कार्यपालिकाको बैठकले मकवानपुरगढी गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा प्रत्येक हप्ता बिहीवारका दिन विद्यार्थीहरुलाई स्थानीय एवम् रैथानेबालीका परिकार दिवा खाजाको रुपमा समावेश गर्ने निर्णय गरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

स्थानीय स्तरमा उत्पादन भएका बस्तुको प्रवद्र्धनका गर्ने उद्देश्यले गाउँपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयका विद्यार्थीहरुलाई हप्ताको एक दिन रैथानेबालीका परिकार दिवा खाजा समावेश गर्न लागिएको उनले बताए ।

मकवानपुरगढी गाउँपालिकामा पढ्ने उमेरका शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएर नियमित अध्ययन गरिरहेका छन् । दिवा खाजा प्रभावकारी पनि बन्दै गइरहेको छ ।

गाउँपालिकाले २०७५ सालदेखि नै सामुदायिक विद्यालयका १२ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ । सोही व्यवस्थाका कारण पालिकाभित्रका सबैजसो बालबालिका विद्यालय भर्ना भएका छन् भने भर्ना भएर बीचमै पढाइ छाड्ने (ड्रप आउट) प्रवृत्ति पनि घटेको छ ।

भर्ना भएका सबैजना विद्यार्थीहरु पनि निरन्तर पढ्न आइरहेको शिक्षकहरुले बताए । सरस्वती माविमा २०७४ सालको शैक्षिक सत्रमा ४८ विद्यार्थी मात्रै भर्ना भएका थिए । नियमित पढ्न आउने ३२ जना मात्र थिए ।

२०७५ सालमा गाउँपालिकाले खाजाको व्यवस्था गरेकाले नयाँ र पुराना गरेर ७७ जना विद्यार्थी भर्ना भए । उनीहरु गतवर्षसम्म नियमित रुपमा विद्यालय आउने गरेका थिए ।

मकवानपुरगढी–५ मानेडाँडास्थित मञ्जुश्री आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या बढेको छ । स्कुलमा खाजाको व्यवस्था नहुँदा विद्यालयमा २५ जनामात्र विद्यार्थी भर्ना भएका थिए । खाजाको व्यवस्था भएपछि विद्यार्थीको संख्या दोब्बर भएको छ ।

बीचमा नै पढाइ छोड्ने र हाफटाइममा भाग्ने बानी अहिले हराएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । एक÷दुई कक्षा पढेर छाडेर घर बसेकाहरु पनि स्कुलमा पढ्न आउने गरेको जनाइएको छ ।

विद्यार्थी संख्या नपुगेर मर्ज गर्नुपर्ने अवस्थामा पुगेको मकवानपुरगढीकै उज्ज्वल आधारभूत विद्यालयमा पनि खाजा सञ्चालन गरेपछि विद्यार्थी संख्या बढेको थियो ।

दिवा खाजामा एक दिन रैथाने परिकारलाई लागु गर्न पालिकाभित्रका विद्यालयको भान्सामा काम गर्ने कर्मचारीलाई माघको पहिलो सातादेखि प्रशिक्षण तथा तालिम प्रदान गरिने चौधरीले बताए ।

उनले कोदो, फापर, मकैको रोटी तथा हलुवा, सिमी, बोडी, मस्याङको तरकारी लगायतका विभिन्न परिकार दिवा खाजामा समावेश गरिने बताए । ‘गाउँको उत्पादन गाउँमै खपत हुने भएपछि गाउँको पैसा गाउँमै रहन्छ, स्थानीय उत्पादनको प्रर्वद्धन पनि हुने भो, यो कार्यक्रम सफल पनि हुन्छ,’ उनले भने ।

मकवानपुरगढी गाउँपालिका शिक्षा शाखाका प्रमुख रामबहादुर घलानका अनुसार पालिकाभित्रका ३८ विद्यालयका ६ हजार ७४ जना विद्याथीहरु रहेका छन् ।

नेपाल सरकारले मकवानपुरगढीमा बालविकासदेखि कक्षा ६ सम्मका विद्याथीका लागि १ करोड १६ लाख बजेट उपलब्ध गराएको घलानले बताए । त्यसमा पालिकाले ३५ लाख बजेट थप गरेर बालविकासदेखि कक्षा १२ सम्मका विद्याथीलाई दिवा खाजा खुवाउँदै आएको उनले बताए ।

स्थानीय किसानले उत्पादन गरेको बस्तुको परिकार विद्यालयमा दिवा खाजाको रुपमा खुवाने कार्य स्वागत योग्य रहेको अभिभावकहरु बताउँछन् । बाहिरबाट खरिद गरेर ल्याएको तुलनामा स्थानीय स्तरमा उत्पालन भएका केहीको मुल्य महंगो हुने भएकोले अध्ययन गरेर बजेट ब्यवस्थापन अबिभावकहरुको भनाई छ ।

यसअघि गाउँपालिकाले कोदो र फापरको मःम, पिजा, केक, बिस्कुट, निम्की, दुनोट, सेल लगायतको परिकार बनाउन तालिम प्रदान गरेको थियो । त्यस्तै पालिकाले रैथानेबाली कोदोको मूल्य प्रति केजी ४५ र फापरको मूल्य प्रति केजी ८० रुपैयाँ निर्धारण गरेको छ ।

कृषकले सहकारीमार्फत् विक्री गरेबापत गाउँपालिकाले प्रोत्साहनस्वरुप प्रतिकेजी २ रुपैयाँ र सहकारीलाई खरीद गरी भण्डारण र व्यवस्थापन गरेबापत प्रतिकेजी २ रुपैयाका दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*