थाहाको वित्तिय प्रगति कमजोर, आर्थिक विकासमा २ दशमलव ७ प्रतिशत हासिल
हेटौंडा– जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको वित्तिय प्रगति कमजोर देखिएको छ । विगतका वर्षमा बेरुजी फर्छयौटमा देशमै उत्कृष्ट बनिरहेको थाहा नगरपालिकाको पुस मसान्तसम्म वित्तिय प्रगति अपेक्षा गरेअनुसारको नरहेको पाइएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षको २० पुससम्म जम्मा २३ दशमलव ८८ प्रतिशत मात्र वित्तिय प्रगति हासिल गरेको छ । पालिकाको १२ औं नगरसभामा प्रस्तुत नीति कार्यक्रम एवम् बजेट समिक्षासहितको संशोधित बजेट वक्तव्यमा वित्तिय कमजोर रहेको पाइएको हो ।
नगर प्रमुख विष्णुबहादुर विष्टको अध्यक्षतामा भएको नगरसभामा सभाका उपाध्यक्ष तथा नगर उपप्रमुख भरत गोपालीले आर्थिक वर्ष २०७९\०८० को नीति कार्यक्रम एवम् बजेट समिक्षा सहितको संशोधित बजेट वक्तव्य पेश गरेका थिए । कुन वित्तिय प्रगतिमा चालु खर्च ३५ दशलवम ९ र पुँजीगत खर्च १४ दशमलव ९३ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको हालसम्मको अवधिमा संघीय सरकारमार्फत आयतर्फ समानीकरण अनुदान तर्फ ७ करोड ८ लाख ८३ हजार ३ सय ३३, सशर्त अनुदान चालु १४ करोड ३० लाख ५० हजार, विशेष अनुदान पुँजीगत ३३ लाख ३३ हजार ३ सय ३३ र समपुरक अनुदान पुँजीगत २६ लाख ६६ हजार ६ सय ६६ रुपियाँ प्राप्त भएको छ । बागमती प्रदेश सरकारबाट समानीकरण अनुदान प्राप्त गर्न सकेको छैन ।
सशर्त अनुदान चालु ६० लाख ६० हजार, विशेष अनुदान १८ लाख ७५ हजार, समपुरक अनुदान ७४ लाख ११ हजार २ सय ५० र राजश्व बाँडफाँड तर्फ संघ र प्रदेश सरकारबाट ४ करोड ५४ लाख ६५ हजार तथा आन्तरिक स्रोत राजश्व शुल्क गतवर्षको बैंक मौज्दात अल्या समेत गरी २८ करोड ५७ लाख १ हजार ६ सय १८ अर्थात चालु आर्थिक वर्षको अनुमानित आयको ४८ प्रतिशत आम्दानी गरेको छ ।
त्यसैगरी खर्चतर्फ कार्यलय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ हालको अवधिसम्म ५ करोड २३ लाख ५७ हजार अर्थात ४६ दशलव ४२ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६४ लाख ४० हजार ३ सय २ अर्थात १० दशमलव १९ प्रतिशत, पूर्वाधार विकास क्षेत्रतर्फ ९ करोड ४० लाख ३९ हजार २ सय ८६ अर्थात १८ दशमलव १८ प्रतिशत, सामाजिक विकास क्षेत्र तर्फ १२ करोड ४२ लाख ६८ हजार १ सय ७७ अर्थात ३० दशमलव २२ प्रतिशत र आर्थिक विकास क्षेत्रतर्फ २३ लाख ६६ हजार ४ सय ६९ अर्थात २ दशमलव ७ प्रतिशत समेत गरी कुल २७ करोड ९४ लाख ७१ हजार २ सय ४९ अर्थात २३ दशमलव ८८ प्रतिशत खर्च भइसकेको अवस्था रहेको छ । जसमा चालु खर्च ३५ दशमलव ९ र पुँजीगत खर्च १४ दशमलव ९३ प्रतिशत खर्च भएको छ ।
थाहा नगरपालिकाको विभिन्न पाँच विषय क्षेत्र मध्ये सबैभन्दा बढि प्रगती सामाजिक विकासमा ३० दशमलव २२ र सबैभन्दा कमजोर आर्थिक विकास २ दशमलव ७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९\०८० को लागि कुल बजेट १ अर्ब १७ करोड २ लाख १२ हजार ८ सय ६२ रुपियाँ विनियोजन गरिएको छ ।
यसैबीच थाहानगरले १२ औं नगरसभामा चालु आर्थिक वर्षको साउनबाट हालसम्म संचालन भएको कार्यक्रमहरुको समिक्षा गरेको छ । पालिकाको विभिन्न ५ विषय क्षेत्रमा ९५ बुँदामा समिक्षा गरिएको छ । समिक्षाले आगामि योजना कार्यान्वयनमा बल मिल्ने जनाइएको छ । तर समग्रमा भने पालिकाको प्रगति कमजोर रहेको छ ।
पाँच कर्मचारी पुरस्कृत
१२ औं नगरसभाको अबसरमा थाहा नगरपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।
नगरपालिकाका पुरुष कर्मचाहरुमध्येबाट प्रशासन शाखा अधिकृत छैठौं उमेश श्रेष्ठ, महिलातर्फ महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान, वडा सचिवहरुमध्येबाट वडा नम्बर १ की वडा सचिव अनु रुपाखेती, स्वास्थ्य सेवातर्फ बज्रवाराही स्वास्थ्य चौकीकी अनमी सितामाया जिरेल र कार्यालय सहयोगीहरु मध्येबाट वडा नम्बर २ का विन्दुकुमार श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ ।
सम्मानित सबैलाई नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेले सम्मान पत्र प्रदान गरे थिए । थाहा नगरले वर्षेनी कर्मचारीहरुको मूल्यांकन गर्दै पुरस्कृत गर्ने गरेको छ ।