बुढीचौरको पानी ल्याएर २ हजार घरधुरीको समस्या हटाउने योजना
हेटौंडा– मकवानपुरगढीका १, २, ४ र ७ नम्बर वडा खोपानीको पहुँचले पछाडि परेका क्षेत्र हुन् । भौगोलिक दृष्टिकोणले पनि विगतमा यी वडाहरुमा खानेपानीको व्यवस्थापन हुन सकेको छैन् ।
यी वडाहरुमा खानेपानीको हाहाकार नै मच्चिने गरेको छ । ३ नम्बर वडामा केही वर्षअघिसम्म खानेपानीको ठूलो समस्या रहेको थियो । करिब ३ वर्षअघि सामरी खोलाको पानी टावरडाँडाको टंयाकीबाट खानेपानी वितरण भएपछि ३ नम्बर वडाम खानेपानीको हाहाकार हटेको थियो । तर, १, २, ७ नम्बर वडाहरुमा खानेपानीको हाहाकार अझै कायम छ ।
जसकारण गाउँपालिकाको नेतृत्व नै खानेपानीको हाहाकार हटाउन लागिपरेका छन् । साविक गढी गाविस अर्थात हालको १, २, ७, ४ र ३ नम्बर वडामा खानेपानी समस्याको दीर्घकालीन समाधान निकाल्न ८ नम्बर वडाको बुढीचौर खोलाको पानी ल्याउन
प्रारम्भिक अध्ययन थालिएको छ ।
गाउँपालिकाको वडा नम्बर २ र ४ मा संचालनमा रहेको बृहत खानेपानी योजनामा पानीको अपुग भएपछि थप मुहानको खोजी भएको हो । हालको वडा नम्बर २ मा रहेको धवाडी खोल्सीको पानीलाई बृहत खानेपानी योजनाको मुहानको रुपमा प्रयोग गरिएको छ ।
पछिल्लो समय मुहानको माथिल्लो भागमा बस्ती विकास बढ्दै जाँदा मुहानको पानी घट्दै गएको तथा वि।सं। २०५३ साल ताका निर्माण गरिएका खानेपानीका पाईपलगायत भौतिक संरचना पुरानो भई जिर्ण हुँदै गएकाले पानी आपूर्तिको क्षमता कम हुँदै गएको छ । त्यसो त पछिल्लो समय वडा नं २, ३ र ४ मा बजारीकरण तर्फ उन्मुख हुँदै गरेको तथा व्यवसायिक पशुपालनसमेत बढेकाले पानीको अभाव बढ्दो छ ।
यहाँ खानेपानी आपूर्तिका लागि लिफ्ट सिस्टमका विभिन्न योजनाहरु पनि संचालनमा रहेका छन् । वडा नम्बर ३ मा रहेको देविडाँडा खानेपानी योजना, जागृति खानेपानी, टावरडाँडा खानेपानी तथा वडा नम्बर ४ मा रहेको तिनधारा खानेपानी (धरमचुली), बुर्जाडाँडा खानेपानीलगायतका योजनाहरु लिफ्ट सिस्टमबाट संचालनमा रहेका छन् ।
बिजुलीको सहज आपूर्तिमा समस्या हुँदा तथा लामो दुरीमा तलको पानी माथि डाँडा लिफ्टिङ गर्दा बेला–बेलामा पाईप फुट्ने समस्या हुने कारण ती योजना संचालनमा त्यती सहज छैन भने आर्थिक हिसाबले समेत केही महंगो छ ।
बगेर आउने पानीमा लागत कम पर्ने तथा सहज आपूर्ति हुने भएको हुँदा त्यस तर्फ पहल गर्न स्थानीय उपभोक्ताहरुले जनप्रतिनिधिहरु समक्ष सुझाव समेत राख्ने गरेका छन् ।
सोही अनुसार खानेपानीको दीर्घकालीन समस्या समाधानको लागि सोमबार मकवानपुरगढीका जनप्रतिनिधि एवम् बृहत खानेपानी उपभोक्ता समुहका प्रतिनिधिहरुले थप मुहान खोजीका क्रममा वडा नम्बर ८ मा रहेकोे बुढीचौर खोलामा पुगि प्रारम्भिक अध्ययन गरेका छन् । भौगोलिक रुपले बुढीचौर समुन्द्री सतहबाट मााथि रहेको र २ देखि ४ नम्बर वडा ओरालो पर्ने भएकाले पानी ल्याउन सहज हुने अनुमान गरिएको छ ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मान कुमारी पाख्रिन, वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रिन, वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, गाउँपालिकाकै योजना शाखा प्रमुख प्रकाश न्यौपाने, मकवानपुरगढी बृहत् खानेपानी योजना उपभोक्ता समुहका सचिव कृष्ण प्रसाद पोखरेल, प्राविधिक बिष्णु ढुंगानालगायतको टोलीले प्रारम्भिक अध्ययन गरेको हो ।
बुढीचौर खोलामा बगेर खेर गएको पानीलाई सदुपयोग गरी खानेपानीको आपूर्ति गर्न सके साबिक मकवानपुरगढीका करिब २ हजार घरधुरीलाई खानेपानी समस्याको समाधान हुने ३ नम्बर वडाका वडाध्यक्ष घिमिरेले जानकारी दिए ।