कुम्लो बोकी मतदान केन्द्र तिर…

संवाददाता
मंसिर २, २०७९

हेटौंडा– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा सुरक्षा निकायहरु मतदान केन्द्रमा खटिएका छन् । निर्वाचनमा मकवानपुरभर ३ हजार २ सय सुरक्षाकर्मी खटिएका छन् ।

१ मंसिर बुधवार जिल्लाका १ सय ६७ वटा मतदान स्थल र ३ सय ६६ वटा मतदान केन्द्रहरुमा म्यादी प्रहरीहरु आवश्यक सबै सामग्रीको कुम्लो बोकेर पुगेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरबाट म्यादी प्रहरीहरुले सुरक्षा सामग्री बुझेर आफू खटिएको मतदान केन्द्रतर्फ लागेका हुन् ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले म्यादी प्रहरी र नेपाल प्रहरी मतदान केन्द्रमा खटिएको बताए । जिल्लाभर १ हजार ६ सय ९९ जना म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् । जिल्लाका विकट र दुर्गम क्षेत्रका मतदान केन्द्रहरुका लागि बुधवारभित्र नै प्रहरी परिचालन गरिसकेको कार्कीले बताए ।

नेपाल प्रहरी र म्यादी प्रहरीहरु मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरुसँग मतपत्र लगायतका सामग्रीहरु लिएर पुगेका हुन् । कार्कीका अनुसार जिल्लाभर ३ सय ४६ मतदान केन्द्रमा सुरक्षा निकायसहित मतपेटिका पुगिसकेको बताए । जहाँ प्रहरीहरुले सुरक्षा दिइरहेको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुरमा निर्वाचनलाई केन्द्रित गरेर ३ हजार २ सय जना सुरक्षाकर्मी खटिएका छन् । जिल्लास्थित मतदान स्थलहरुमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र म्यादी गरेर ३ हजार २ सय जना निर्वाचनमा परिचालन हुने भएका हुन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले सबै मतदान स्थलमा सुरक्षाकर्मी परिचालन गरेर निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाइने बताए । मकवानपुरमा ६० वटा मतदान स्थल संवेदनशील छन् । सुरक्षाको दृष्टिकोणले मकवानपुरका १९ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ ।

संवेदनशील मतदान स्थलको सूचिमा विकट गाउँपालिका र वडाहरुका मतदान स्थल रहेका छन् । संवेदनशील मतदान स्थलहरुमा सुरक्षाकर्मीहरु विशेष रुपमा खटिने छन् ।

निर्वाचनमा पहिलो सुरक्षा घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र मतदान स्थल वरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाइने जनाइएको छ । सबै भन्दा धेरै म्यादी प्रहरी एक हजार ६ सय ९९ जना, जनपथ (नेपाल) प्रहरी एक हजार ६९ जना, सशस्त्र प्रहरी ४ सय जना र अन्य नेपाली सेना खटाउने तयारी गरिएको छ ।

सुरक्षाकर्मीहरु विशेषतः मतदान केन्द्र, मतपेटिका, मतपत्रको सुरक्षामा प्रहरी परिचालन गरिने जनाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका मतदान स्थल वरपरको सुरक्षाका लागि यसअघि नै खटाइसकिएको थियो ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार मकवानपुरमा ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर १ को (क) मा ७७ हजार ९ सय ८९ जना र प्रदेशसभा १ को (ख) मा ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ को (क) मा ८३ हजार ९९ जना र प्रदेशसभा २ को (ख) मा ६७ हजार ४ सय ७९ जना मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*