मकवानपुरका ३ सय ४४ मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
हेटौंडा– मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरबाट नियुक्त पत्र लिई खटिएका कर्मचारीहरुले जिल्लाका ३ सय ४४ वटा मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री बुझेका छन् ।
जिल्लाका १० वटै स्थानीय तहमा गरेर स्थायी प्रकृतिका ३ सय ६४ र दुई वटा अस्थायी गरी ३सय ६६ वटा मतदान केन्द्र छन् । जसमध्ये बिहीवारसम्म ३ सय ४४ वटा मतदान केन्द्रका लागि निर्वाचन सामग्री पठाइएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।
बाँकी २२ वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझ्न बाँकी रहेको पोखरेलले जानकारी दिएका छन् । निर्वाचन सामग्री ८१ प्रकारका रहेको उनले बताए । जसमा मतपेटिका, मतपत्रलगायतका निर्वाचन सामग्री रहेका छन् ।
पोखरेलका अनुसार निर्वाचन सामग्री लगिएको ३ सय ४४ वटा मतदान केन्द्र हेटौंडा उपमहानगरपालिका बाहेकका स्थानीय तहका छन् । निर्वाचन सामग्री लान बाँकी २२ वटा मतदान केन्द्र हेटौंडा उपमहानगरपालिका र आसपासका नजिकका मतदान केन्द्र रहेको उनले बताए ।
निर्वाचन आयोगको निर्देशनअनुसार १ मंसिरभित्रै निर्वाचन सामग्री मतदान केन्द्रहरुमा पु¥याइ सक्नु पर्ने थियो । पोखरेलले पनि १ मंसिरभित्रै निर्वाचन सामग्री लगिसक्नु पर्नेमा २२ वटा मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले आज शुक्रबार सामग्री बुझ्न आउने खबर दिएको बताए । बाँकी २२ वटा मतदान केन्द्रमा आज शुक्रबारससम्म निर्वाचन सामग्री जसरी पनि पुग्ने जानकारी दिए ।
‘आजसम्म मतदान केन्द्रहरुमा निर्वाचन सामग्री पुगिसक्ने पर्ने हो । २२ वटा मतदान केन्द्रका मतदान अधिकृतले शुक्रबार सामग्री बुझ्न आउँछौं भन्नु भएको छ । भोली जसरी पनि मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री पुगिसक्छ,’ पोखरेलले भने ।
मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचन कार्यालयमा रुजु गराएर मात्रै निर्वाचन सामग्री बुझ्न पाउँछन् । विगत ३–४ दिनदेखि प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन सामग्री बुझ्ने कर्मचारीहरुको भिड नै लागेको थियो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा ९० प्रतिशत काम सकिएको पोखरेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र बुझेर आफ्ना मतदान केन्द्रमा जाने कर्मचारीहरुको भीड लागेको थियो ।
बुधवारभित्र कर्मचारीहरु खटिएको मतदान केन्द्रमा पुगेर सुचना टाँस गर्नुपर्ने भएकाले पनि मतदानका दिनलाई चाहिने आवश्यक सामग्री लिएर जाने कर्मचारीहरुको भिड लागेको हो ।
१ मंसिरसम्म जिल्लाका १० वटै स्थानीय तहका मतदान केन्द्रहरुमा निर्वाचन सामग्री लिएर गएर मतदानको सवै प्रक्रिया मतदान अधिकृत, सहायक अधिकृत र सहायक स्तरका कर्मचारीहरुले पु¥याउनु पर्छ ।
मतपत्र सहितका सामग्री लिएर बुधवार बेलुकासम्म सबै मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसक्नु पर्ने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । जिल्लामा शिक्षक सहित ३ हजार बढी कर्मचारी निर्वाचनका लागि खटिएका छन् ।
हेटौंडामा रहेका बागमती प्रदेशका विभिन्न मन्त्रालय, जिल्ला स्तरका कार्यालय र स्थानीय तहसमेत गरेर २ हजार ६ सय जना कर्मचारी र अन्य सहायक स्तरका स्थायी शिक्षकहरु निर्वाचनमा खटिने भएका हुन् ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिव स्तरका मतदान अधिकृत रहेका छन् । जिल्लाका अन्य स्थानीय तहमा रहेको मतदान केन्द्रहरुमा अधिकृत तहका मतदान अधिकृत खटाइएको छ ।