किसान मल नपाएर अप्ठेरोमा, नेतालाई धुमधाम बन्दैछ निर्वाचन

संवाददाता
कार्तिक २८, २०७९

हेटौंडा– मकवानपुरको मकवानपुरगढी, बकैया, मनहरी, बागमती र हेटौंडा उपमहानगरपालिकाभित्रका कृषकलाई आलु लगाउने चटारो छ ।
किसानलाई आलु लगाउने चटारोले सताइरहेको छ भने जिल्लास्थित राजनीतिक दलका नेता कार्यकर्तासँगै उम्मेदवारहरुलाई निर्वाचन धुमधाम लागिरहेको छ ।

गाउँमा निर्वाचनको रौनकतासँगै किसानलाई खेतीपातीमा भ्याईनभ्याई भइरहेको छ । तर, विडम्बना नेता र कार्यकर्ता चढेको गाडी सडकमा सरर दौडिँदा किसानहरुलाई भने मल नपाएर आलु लगाउनै नपाउनुको पीडाले भतक्कै पोलेको छ । आलुको ड्याङ बनाउँदा डिएपी मल आवश्यक पर्दछ । बजारमा आलु लगाउन चाहिने डिएपी मलको अभाव छ भने युरिया मल छ्यापछ्याप्ती छ ।

निर्वाचनमा भुलिएको सरकारले आलु लगाउने बेलामा डिएपी मल नल्याउँदा किसानहरु मर्कामा परेका हुन् । कृषि सहकारीहरुबाट बल्लतल्ल मल पाएपनि घण्टौसम्म लाइन बस्नु परेको किसानहरु बताउँछन् । हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडाका विनोद सापकोटालाई मल नपाएर आलु लगाउन समस्या भएको छ ।

बिहान उठ्ने बित्तिक्कै बजार आइपुग्ने सापकोटाले ५ दिनदेखि मल खोज्दा पनि नपाएको बताए । राप्तिरोडबाट बसपार्कतर्फ जाने क्षेत्रमा मल खोज्न भौतारिएका सापकोटाले भने, ‘मैले ब्ल्याकमै मल किन्नु भन्दा पनि पाइन्,’ आफूलाई र गाउँका आफन्तलाई मल खोजिरहेका सापकोटालाई खेतमा आलु लगाउन हतार भइसक्यो । तर, डिएपी मल अहिलेसम्म नपाएको उनले बताए ।

‘बजार भरी युरिया नामको मल मात्रै रहेछ । मलाई चाहियो छ, डिएपी मल । सहकारीले बाँड्छ भनेको सुनेको छु । अब कहाँको सहकारी खोज्दै जानु,’ उनले गुनासो गरे । मनहरी हाँडिखोलाका गोपाल तिमल्सिनालाई पनि यस्तै समस्या परेको छ । उनले आलु लगाउन मल खोजेको धेरै दिन भएपनि नपाएको गुनासो गरे ।

भीमफेदी गाउँपालिका–१ घर भएका जिवन विष्ट खेतमा ट्याक्टर लगाइरहे पनि उनको मनमा मल कहाँ पाइएला भन्ने चिन्ताले पिरोलिरहन्छ । ट्याक्टरले खेत जोतेर आलु लगाउने तयारी गरेका उनले यसअघि खोजेर पनि मल पाएनन् । अघिल्लो वर्ष पनि डिएपी मल नपाउँदा उनले कुखुराको भुस मल हालेर आलु लगाएको सुनाए ।

कुखुराको मल मात्रै हाल्दा राम्रो आलु उत्पादन नभएको उनले बताए । आलु लगाउन खोजेको १० दिन भइसक्यो अझै डिएपी मल पाउन नसकेको विष्टले बताए । भीमफेदीका पुडासैनी मात्र हैन मकवानपुरका आलु उत्पादन हुने फाँटका अधिकांश किसानलाई मल नपाउँदा समस्या परेको हो ।

नगदे बालीका रुपमा रहेको आलु नलगाए कृषकलाई आम्दानी र खान किन्नु पर्ने समस्याले पिरोलिरहन्छ । उनीहरुको समस्यामा प्रत्यक्ष सहयोग गर्न कुनै निकायले चासो देखाएको छैन् । तर, मल नपाएर प्रताडित बनेका उनै कृषकका घर, आँगनमा निर्वाचन लागेका उम्मेदवारहरु नेता र कार्यकर्ताको जम्बो टोली बोकेर मत माग्न पुगिरहेका छन् ।

मकवानपुरमा दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा निर्वाचन छ । जसमा ठूला तथा साना दल, स्वतन्त्र गरेर ६० जना भन्दा बढी उम्मेदवार मैदानमा छन् । सबै उम्मेदवार कृषकका घरको ढोकासम्म पुगिरहेको छन् । तर, कृषकलाई आपत परेको विषयमा कसैले चासो नदेखाएको मकवानपुरगढी गाउँपालिका–५ का शिवराज तिमल्सिना बताउँछन् ।

आफ्नो घरमा पनि उम्मेदवार भोट माग्न आएको बताउने उनले मलको अभाव छ की छैन भनेर एक पटक कसैले नसोधेको गुनासो गरे । ‘उनीहरुले मल ल्याउन सक्थे की सक्दैन थिए मलाई थाहा छैन । तर, काम गर्ने बेला छ, समस्याहरु के छन् भनेर कसैले सोध्दैन् । हामीलाई भोट दिनुस् है भनेर कागज छोडेर हिँड्छन्,’ उनले भने ।

नेताहरु अपवादमा एक दुई जना बाहेक सबै फटाहा रहेको भैरवडाँडाका सापकोटाले रोष प्रकट गरे । ‘पाँच वर्षमा एक चोटी भोट माग्न आउँछन् । त्यसपछि फर्किएर आउँदैनन्,’ उनी भन्छन् । मकवानपुरगढी–५ कै कृष्ण प्रसाद ढुंगानाले मल नपाएर आलु लगाउन नपाएको सुनाए ।

खेतमा खनिरहेको अवस्थामा भेटिएका ढुंगानाले नेताहरुलाई भोट माग्न आउन पनि अपठेरो लाग्नुपर्ने बताउँछन् । ‘यो देशमा नेताहरुलाई कहाँ लाज लाग्छ र । संधै यस्तो र उस्तो गर्छु, रोजगार दिन्छु भनेर आउँछन् । देशमा काम गरेर खान्छु भनेर कसैले नसोचे पनि हुन्छ,’ उनले दुःख पोखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*