हेटौँडाका सुगम वडामा पानीको पैसा लाग्दैन, तर दुर्गम वडाबासी चुन मिसिएको पानी खान बाध्य
हेटौँडा– हेटौँडा उपमहानगरपालिका भित्रका सुगम वडाका बासिन्दाले निःशुल्क खानेपानी पाउने गरी व्यस्था मिलाइएको छ । तर, दुर्गम वडाका जनता अझै स्वच्छ खानेपानी पिउनबाट बञ्चित छन् ।
नगरका सीमित उपभोक्तालाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने गरी उपमहानगरले हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरिसकेको छ ।
उक्त सम्झौताबाट बोर्ड अन्तर्गतका करिब २३ हजार धाराबाट खानेपानी उपभोग गरिरहेका उपभोक्ता लाभान्वित हुनेछन् । यसअघि १० हजार लिटरसम्म पानी प्रयोग गर्नेले मासिक ८५ रुपैयाँ महसुल लिइँदै आएको थियो । तर, उपमहानगरभित्र यस्तो वडा पनि छ, जहाँ पैसा तिर्छु भन्दा पनि स्वच्छ खानेपानी पिउनबाट स्थानीय बञ्चित हुँदै आएका छन् ।
हेटौँडाको वडा नम्बर १ देखि १० र वडा नम्बर १४ देखि १७ नम्बर वडाको केही भाग ९२१ वर्ग किलोमिटर० मा बोर्डले सेवा विस्तार गरिरहेको छ । यी वडाभित्रकाले मात्रै पानी निःशुल्क पाउने छन् ।
तर, नगरको दुर्गम मानिएको १९ नम्बर वडाका जनताले खानेपानी निःशुल्क त टाढाको कुरा, शुद्ध पानीसमेत पाएका छैनन् । वडाबासीहरू सिधै खोलाखोल्चीको चुन र लेउ मिसिएको पानी पिउन बाध्य छन् ।
१९ नम्बर वडाबासीको घरमा अझै खानेपानी पुगेको छैन । हेटौँडा बजारबाट पश्चिमतर्फ करिब १७ किलोमिटरको दूरि पार गरेपछि बस्तिपुर आइपुग्छ । बस्तिपुरबाट थप एक किलोमिटरभित्र प्रवेश गरेपछि १९ नम्बर वडाको बासुदेव भन्ने स्थानमा पुग्न सकिन्छ ।
बासुदेवका बासिन्दा वर्षौदेखि चुन र लेउ मिसिएको पानी पिउँदै आएका छन् । खानेपानीको अन्य विकल्प नहुँदा उनीहरू कुवाको चुन मिसिएको पानी पिउन बाध्य भएका हुन् ।
स्थानीय कविता पहेली चुन र लेउ मिसिएको नुनिलो पानी नखानुको विकल्प नभएको दुखेसो पोख्छिन् । हिउँदमा घर नजिक डाँडामा रहेको कुवाबाट तानिएको पानी घरसम्म आइपुग्ने भएपछि उनीहरूले चुन मिसिएको पानी खानु पर्दैन् ।
तर, वर्षायाममा चुन भएको नुनिलो दुषित पानी भए पनि उनीहरू खान्छन् । वर्षामा स्थानीय खोलामा पानीको भेल आएपछि स्थानीय सबैको दैनिकी पानी लिन कुवा खोज्दै हिँड्नु रहेको पहेली बताउँछिन् ।
चुन मिसिएको दुषित पानी पिउनाले गाउँको धेरै जनामा टिभि, पत्थरी तथा झाडापखालाको समस्यासमेत देखिएको पहेलीको भनाइ छ । ‘हामीसँग पानी नखाई बस्ने विकल्प पनि छैन । खाउँ भने गाउँको कति जनामा त टिभि, पत्थरी र बच्चाहरूलाई झाडापखाला पनि लागेको छ’, पहेली सुनाउँछिन् ।
हिरामाया प्रजा र बीरबहादुर ब्लोनको पनि पहेलीको जस्तै दुखेसो छ । गाउँमा आफूहरूलाई भौतिक विकास भन्दा पनि पहिला पानी चाहिएको बीरबहादुरले बताए ।
१९ नम्वर वडाकै डुमारे, लेकपानी, कालिटार र भालुखोलाका बासिन्दाहरू खानेपानी लिन दैनिक घण्टौँसम्म हिँड्ने गरेका छन् । बासुदेवबाटै सुरु भएको खानेपानी अभावको समस्या त्यहाँबाट जति माथि पुग्यो त्यति विकराल अवस्थामा छ ।
पिउने पानीको लागि संघर्ष गरिरहेका उनीहरूले स्थानीय सरकारलाई गुहारेको धेरै भयो । कैयौँ पटक वडादेखि उपमहानगरसम्म आइपुगेका उनीहरूले आश्वासन मात्रै पाए ।
प्रदेश सरकारले ‘एक घर एक धारा’को योजना ल्याए पनि दुर्गम वडावासीलाई उक्त कार्यक्रमले छोएको छैन । सरकारका यी कार्यक्रमहरूले पहुँचवाला र टाठाबाठा बस्ने सुगम वडाकै सुविधामा बजेट खर्चिने गरेको पाइन्छ ।
हेटौँडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले प्रदेशको राजधानीबाट नजिकै भए पनि आफ्नो वडाका बासिन्दाहरू पिउने पानीको लागि छट्पटिनु परेको गुनासो गरे । प्रदेश सरकार र हेटौँडा उपमहानगरको चासोमा नपर्दा प्रदेशको राजधानीवासी खानेपानीबाटै बञ्चित हुनुपरेको उनले देखेसो पोखे ।
सुवेदीले हेटौँडा उपमहानगरपालिकाले पनि पानी पुगेको स्थानमा निःशुल्क खानेपानी वितरण गरेको भन्दै पानी नै नपुगेको स्थानलाई बेवास्ता गरेको बताए । ‘जहाँ पानी पुगिसकेको छ, त्यहाँ चाहीँ १० हजार लिटर खानेपानी निःशुल्क गरिएको छ ।
अनि अहिलेसम्म पानी नै नपुगेको ठाउँमा चाहीँ चाँसो नै छैन,’ सुवेदीले भने । सुवेदीले चुन मिसिएको पानी खानुपर्ने बाध्यता हटाउन लागिपरेको दाबी गरे । वडाले चालु आर्थिक वर्ष २०७९र०८० मा बासुदेवको बासिन्दालाई शुद्व र सफा पानी खुवाउनको लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेर काम सुरु गरेको बताए ।
उनले पाँच लाख पर्याप्त बजेट नभए पनि सहयोगी दाताले सहयोग गर्ने वचन दिएको बताए । १९ नम्बर वडाकै डुमारे, लेकपानी, कालिटार र भालुखोलामा पानी पुर्याउन भने वडाको मात्रै एकल प्रयासले सम्भव नहुने उनको भनाइ छ ।
उक्त स्थानमा लिफ्ट सिँचाइबाट खानेपानी लैजाने योजना प्रदेश सरकारले बनाएको भए पनि योजना ल्याएको पाँच वर्षसम्म पनि काम हुन नसकेको सुवेदी बताउँछन् । करिब १२ करोड रुपैयाँ लागत अनुमान रहेको लिफ्ट सिँचाइ योजनाको लागि प्रदेशले बर्सेनि २० लाखको हाराहारीमा बजेट दिएर आलटाल गरेको उनी बताउँछन् ।
शिलापत्रबाट साभार