हेटौंडामा मनाइयो संविधान दिवसः प्रदेश प्रमुख र मुख्यमन्त्रीले के भने ?

संवाददाता
अशोज ४, २०७९

हेटौंडा– बागमती प्रदेशको मुकाम हेटौंडामा मंगलबार संविधान दिवस मनाइएको छ । ७ औं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी र औपचारिक कार्यक्रम गरिएको छ ।

हेटौंडाको भुटनदेवी माध्यामिक विद्यालयबाट सुरु प्रभातफेरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएर कार्यक्रममा परिणत भएको थियो । पञ्चेबाजा, झाँकीसहित प्रभातफेरी गरिएको हो ।

मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा भएको समारोह कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरसः पालना गर्दै कार्यावयन गर्नु सबैको दायित्व भएको बताएका छन् ।

संविधान दिवस २०७९ को शुभकामना सन्देश जारी गर्दै शर्माले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरी जारी गरिएको संविधानको मर्म र भावनालाई अक्षरसःपालना गर्दै त्यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व भएको बताएका हुन् ।

प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा नेपाली जनताको संघर्ष, त्याग र बलिदानपछि संविधान जारी भएको २०७२ असोज ३ लाई ऐतिहासिक दिवसको रुपमा स्मरण गरिरहेको उल्लेख गरे । ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात्त गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली मजबुत बनाउनका लागि संविधान जारी भएको सुखद् दिनका रुपमा ‘संविधान दिवस’ मनाउने गर्दछौं ।’ सन्देशमा भनिएको छ ।

शर्माले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सविधानसभाबाट संविधान पारित भएकोमा गौरवबोध गरिएको बताए । उनले यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने नेपाल आमाका वीर सन्तानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धान्जली समेत अर्पण गरेका छन् ।

संविधानवादको सिद्धान्तलाई अंगिकार गरी संविधान कार्यान्वयनको सवालमा देखा परेका चुनौती सामना गर्न तत्पर रहनु आजको आवश्यकता भएको जोड शर्माले दिएका छन् । दिवसले संविधानले परिकल्पना गरेको महान लक्ष्य प्राप्तिका लागि मनवचन र कर्मले समर्पित रहन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरे ।

मुख्यमन्त्री कार्यालयमा भएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संविधानको कार्यन्वयन गर्न संघीय सरकार बाधक बनेको आरोप लगाएका छन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधान कार्यान्वयनको लागि संघीय सरकार बाधक रहेको बताएका हुन् ।

संघीय सरकारले संघीयता कार्यन्वयनमा चासो नदिँदा समस्या भएको उनको भनाइ छ । संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश तहले कानुन निर्माण गर्न बाधा अबरोधको सामना गर्नुपरेको र संविधान नै कार्यन्वयनमा समस्या भएको बताए ।

उनले संवैधानिक अधिकार व्यवस्थित नहुँदा प्रदेश सरकारलाई काम गर्न जटिलता भएको र संविधानमा व्यवस्था भएको अधिकारसमेत नपाएको बताए । उनले भने ‘कानुन त बन्नै बाँकी छ, संविधानमा उल्लेख भएको कुरा समेत पाइएन,’ उनले भने ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले संविधान दिवसलाई औपचारिक मात्र बनाउँदा मर्मबारे आम नागरिक अझै प्रष्ट हुन नसकेको बताएका छन् । यसैगरी, संविधान दिवस–२०७९ को अवसरमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश र नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा भएको खुला लेख प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

विजयीहरुलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादबचन्द्र शर्माले पुरस्कार वितरण गरेका थिए । काठमाडौं निवासी डा। अश्वस्थामा भक्त खरेल प्रथम, हेटौंडाका निर्मलकुमार पौडेल द्धितीय र पत्रकारहरु भानुभक्त आचार्य तथा गणेश दुलाल तृतीय भएका थिए ।

संविधान कार्यान्वयनमा प्रदेशको योगदान विषयमा लेख लेखिएको थियो । प्रतियोगितामा विजेता प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाण पत्र वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*