बागमती प्रदेशको मुख्यमन्त्री–मन्त्रालय हेटौंडा–१६ हटियामा लगिँदै
हेटौँडा– बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६, हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको ‘सिंहदरबार’ निर्माण गर्ने भएको छ ।
बागमतीका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै प्रदेशको ‘सिंहदरबार’ हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा निर्माण गरिने जानकारी दिएका हुन् ।
उनले प्रादेशिक संरचना निर्माण प्रयोजनार्थ जग्गा छनौट गरेर स्वीकृतका लागि संघीय सरकारमा पठाएको जनानकारी गराउँदै केही दिनभित्रै अनुमति प्राप्त हुने जानकारी दिए ।
‘हेटौँडा–१६ मा ५४ बिघा क्षेत्रफलमा प्रदेशको सिंहदरबार बन्छ । हामीले जग्गा छनौट गरेर संघीय सरकारलाई स्वीकृतीका लागि पठाइसकेका छौं । केही दिनभित्रै त्यसको अनुमति आउँछ,’ पाण्डेले भने, ‘जग्गा स्वीकृत भएको एकहप्ताभित्र संरचनाको डिजाइन र निर्माण दुवै काम गर्ने गरी टेण्डर आह्वान गर्छौ ।,’
प्रादेशिक संरचना निर्माणका लागि चालू आर्थिक वर्ष २०७९–०८० मा १ अर्ब ५ करोड बजेट बिनियोजन गरेको उनले जानकारी दिएका छन् । उनका अनुसार हटियामा मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरु, प्रदेशसभा भवन, प्रदेश लोक सेवा आयोग, सांसददेखि मन्त्रीका क्वाटर, विभागहरु, प्रहरी बिटसहितको संरचना निर्माण हुनेछन् ।
बागमतीमा सरकार गठन भएको चार वर्षपछि ११ फागुन २०७८ मा प्रदेश सरकारले हेटौँडाको आठ ठाउँमा जग्गा पहिचान गरी प्रादेशिक संरचना निर्माण गर्न स्वीकृतीका लागि संघीय सरकार समक्ष सिफारिस गरेको थियो । तर, प्रदेशको ‘सिंहदरबार’ कहाँ निर्माण हुने भन्ने विषय अन्यौल थियो ।
यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–२, स्थित हालकै सरकारी अड्डा भएका क्षेत्रमा प्रादेशिक संरचना बनाउने गरी डीपीआर निर्माण गरेका थिए ।
हाल मुख्यमन्त्री कार्यालय रहेको क्षेत्र साँघुरो रहेको भन्दै पाण्डे नेतृत्वको सरकारले प्रादेशिक संरचना हटिया पु¥याएको हो । हेटौँडाको मुख्य बजारबाट हटिया करिब १० देखि १५ किलोमिटर दुरीमा छ । हटिया काठमाडौं–निजगढ द्रुतमार्गबाट नजिक र धरान–चतरा– हेटौँडा सडक खण्डसँग जोडिएको क्षेत्र हो ।
११ कार्तिक २०७८ मा बागमतीमा पाण्डे नेतृत्वको सरकार गठन भएपछि प्रशासनिक भवन जग्गा पहिचान समिति बनाएर प्रादेशिक संरचना बनाउन नयाँ जग्गा खोजी गरिएको थियो ।
उक्त समितिले ८ वटा जग्गामा संरचना बनाउन कूल एक सय ९५ दशमलव २७ बिघा जग्गा पहिचान गरेर सरकारलाई प्रस्ताव गरेको हो ।हेटौँडा उपमहानगरपालिका–१९ लेवटमा ८० बिघा जग्गा पहिचान गरिएको थियो ।
यसैगरी, हेटौँडा–१६ मा ५४ बिघा, हेटौँडा–६ चित्रेपानीमा २० देखि २५ बिघा, हेटौँडा–९ लामसुरेमा १५ बिघा, हेटौँडा–१७ हटियास्थित डिपोचौरमा १२ बिघा, हेटौँडा–९, स्थित हेटौँडा सिमेन्टको स्वामित्व रहेको ५ बिघा, हेटौँडा–८ भोर्लेमा २ दशमलव १३ र हेटौँडा–१७ हटियाको पश्चिम डिपोचौरमा २ दशमलव १४ बिघा जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतीका लागि प्रस्ताव गरिएको थियो ।