हेटौंडाको सडक फराकिलो बनाउन प्रधानमन्त्री देउवाको ‘ग्रीन सिग्नल’
हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघले राष्ट्रिय राजमार्गसँग जोडिएको हेटौंडाको मुख्य सडकलाई दायाँबायाँ १६–१६ मिटर फराकिलो बनाउनु पर्ने अडान दोहोर्याएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन सूचना तथा सञ्चार प्रविधि मन्त्री मोहन बस्नेत हेटौँडा आएको अवसर पारेर संघले सडक विस्तारका सम्बन्धमा अडान राखेको हो । बस्नेत मन्त्रिपरिषद्मा हुँदा तत्कालीन शेबहादुर देउवा नेतृत्वको सरकारले चितवनको नारायणगढ र हेटौंडाको मुख्य सडक फराकिलो बनाउने निर्णय गरेको थियो ।
बस्नेतले नै सडक फराकिलो पार्ने सम्बन्धी प्रस्ताव लगेको भन्दै संघले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेतमार्फत् प्रधानमन्त्री देउवा र बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मुख्य सडक १६–१६ मिटर कायम गराउन ध्यानाकर्षण गराएको हो ।
उद्योग वाणिज्य संघले २०७६ सालदेखि १६–१६ मिटर सडक फराकिलो बनाउनुपर्ने मुद्दा उठाउँदै आएको छ । यसअघि पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको दायाँ–बायाँ २५–२५ मिटर सडक अतिक्रमण गरी बनाइएको घर टहरा, छाप्रो, मन्दिरलगायतको संरचना हटाउन डोजर लिएर डिभिजन सडक निस्किएपछि आन्दोलन चर्किएको थियो ।
हेटौँडा बागमती प्रदेशको राजधानी भएपछि हालको साँघुरो सडक भत्काएर २५–२५ मिटर फराकिलो बनाउनुपर्ने मुद्दा थप बलियो ढंगबाट उठ्दै आएको हो । संघले प्रधानमन्त्री शेरबहादुर देउवादेखि बागमतीका मुख्यमन्त्री पाण्डेसम्मलाई राजमार्ग क्षेत्रका नागरिकलाई सुकुम्बासी बनाउन नहुने भन्दै दबाब दिँदै आएका हुन् ।
संघको तर्फबाट निवर्तमान अध्यक्ष कृष्ण कटुवालले सडक विस्तारका समाचारले नगरबासीलाई त्रसित बनाउँदै आएको भन्दै तत्काल १६–१६ मिटर कायम गरेर जानुपर्नेमा जोड दिए । उनले हेटौंडाको बीच भागबाट रहेको राष्ट्रिय राजमार्गलाई अन्यत्र सार्न सकिनेतर्फ सचेत गराए । बजारको मुख्य सडकमा पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ पर्छ ।
दुबै राजमार्गलाई राप्तिखोलाको किनारैकिनार व्यवस्थित गर्न सकिने कटुवालले बताए ।‘सहरको बीच भागबाट राष्ट्रिय राजमार्ग निर्माण नगरी वैकल्पिक मार्ग निर्माण गरी उक्त मार्गलाई राष्ट्रिय राजमार्ग बनाउने, रातोमाटेदेखि चौकीटोलसम्म र बुद्धचोकदेखि राप्तीपुलसम्मको हाल भइरहेको सडकलाई नेपाल सरकारले सहरी मार्ग कायम गर्नुपर्ने’, पत्रमा उल्लेख छ ।
यी निर्णय भएमा राजमार्गमा पर्ने घरजग्गा धनीहरुले आफ्नै खर्चमा सेडव्याकसहित सडकको मध्यभागबाट १६ मिटरले हुने स्थानसम्म घरटहरा भत्काई क्षतिपूर्ति समेत नलिने र सरकारलाई सहयोग र साथ दिने प्रतिवद्धता जनाइएको छ । पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले सडक १६–१६ मिटर बिस्तार गर्ने र आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाइपासबाट सडक निर्माणमा प्रदेश सरकारले पनि साथ दिने उनले बताए । पाण्डेले केही समयअघि हेटौंडाकै सडकको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको स्मरण गर्दै १६–१६ मिटर सडक फराकिलो बनाउन सकिने बताए । उनले ३२ मिटर सडक बिस्तारमा प्रधानमन्त्री देउवासमेत तयार रहेको जानकारी दिएका छन् ।
‘नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनासहित संघका अध्यक्ष कृष्ण गुप्तालगायत प्रतिनिधिसहित हामीले केही समयअघि प्रधानन्त्रीज्यूलाई भेटेरै सडकको विषयमा छलफल गरेका थियौं । सुरुमा त प्रधानमन्त्रीज्यूले सडक भत्काउनु पर्छ भनेर भन्नुभयो ।
तर, स्थानीयहरुलाई सुकुम्बासी बनाउने विषयदेखि राजमार्ग सार्न सकिने विषयमा बुझाउन सफल भएर उहाँ १६–१६ मिटर फराकिलो बनाउनेमा तयार हुनुभयो’, पाण्डेले भनेका छन् ।
देउवाले तत्काल भौतिक पूर्वाधार मन्त्रीसँग छलफल गरेर सडक फराकिलो बनाउन निर्देशन दिएपनि भौतिक पूर्वाधार मन्त्रीसँग भेट हुन नसकेकाले काम रोकिएको पाण्डेले बताए । ‘भौतिक मन्त्री ज्युलाई २ पटकसम्म भेट्न गएँ तर उहाँलाई भेटिएन । अब भेटेर काम अगाडि बढाउन पहल गर्छौ’, उनले भने ।
पूर्वमन्त्री बस्नेतलाई समेत सडक बिस्तारमा सहयोग गर्न पाण्डेले आग्रह गरे । नेपाली कांग्रेस मकवानपुरका नेता तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरिरहेका आनन्दराम पराजुलीले सडक बिस्तारको नाममा जनतालाई सुकुम्बासी बनाउन नहुने धारणा राखेका छन् ।
पराजुलीले मुख्यमन्त्री पाण्डे र बस्नेतलाई राजमार्ग सारेर ३२ मिटरको सडक विस्तार गर्नुपर्नेमा जोड दिए । जवाफमा मुख्यमन्त्री पाण्डेले हेटौंडामा २५–२५ मिटर सडक भत्काउनुपर्छ भन्ने जमात ठूलो रहेको बताए ।
‘भोलि २५–२५ मिटर भत्काउनु पर्छ भनेर जुलुस निस्केला । त्यता तिर पनि ध्यान दिनूस्’, पाण्डेले भने ।हेटौंडा बागमती प्रदेशको राजधानी भएपछि हालको साँघुरो सडक भत्काएर २५–२५ मिटर फराकिलो बनाउनुपर्ने मुद्दा थप बलियो ढंगबाट उठ्दै आएको छ ।
प्रदेशसभामा समेत सांसद्हरुले हेटौंडाको सडक बिस्तारको प्रशंक पटक–पटक निकाल्ने गरेका छन् । केही दिनअघि वर्तमान उपमहानगर नेतृत्वसँग एसियन हाइबे निर्माणअन्तर्गत् एसियाली बिकास बैंक (एडीबी)ले बजार क्षेत्रको सडक फराकिलो बनाउन छलफल गरेको छ । उपमहानगरले जनतालाई सुकुम्बासी बनाउन नहुने भन्दै व्यवस्थित तरिकाबाट सडक बिस्तार गर्नुपर्ने जनाएको थियो ।
तत्कालीन क्षेत्रीय प्रशासक बिनोद केसीले २०७३ सालमा हेटौंडा सडकको दायाँ÷बायाँ २५–२५ मिटर सडक विस्तारको काम थालिएको थियो ।
सडक डिभिजन हेटौंडाले पछिल्लो समय ७ असार २०७६ मा सूचना जारी गर्दै महेन्द्र राजमार्गको धन्सार पुल (बारा)देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको बीरगञ्ज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर)सम्मको राजमार्ग खाली गर्नका लागि निर्देशन दिएको थियो ।
यसअघि सडक सीमाभित्र पर्ने घरधनीले मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेपछि सर्वोच्च अदालतले तत्काल सडक विस्तार कार्य अगाडि नबढाउन आदेश दिएसँगै सडक विस्तार कार्य रोकिएको हो ।