हेटौंडाको नीति, कार्यक्रम कार्यपालिकाबाट पारित

संवाददाता
असार ८, २०७९

हेटौंडा– मंगलबार बसेको हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित गरेको छ । २९ सदस्यीय कार्यपालिकामा १८ सदस्यसहित बहुमतमा रहेको एमालेले बैठक बहिष्कार गरेको थियो । एमालेले बहिष्कार गरेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

मंगलबार नीति कार्यक्रममाथि छलफल गर्न बैठक बोलाइएको थियो । तर, एमालेले हेटौँडा उपमहानगरपालिकाको मेयरको अधिकार कटौति गर्ने संशोधन प्रस्ताव बैठकमा प्रस्तुत गरेको थियो ।

एमालेले बैठक सञ्चालनसम्बन्धी कार्यविधि संशोधनको प्रस्ताव लगेपछि कार्यपालिकाको अध्यक्षता गरेकी नगर प्रमुख मिनाकुमारी लामाले संशोधन आवश्यक नरहेको भन्दै टेबुल गरिनन् । आफ्नो प्रस्ताव दर्ता नभएपछि एमालेका कार्यपालिका सदस्यहरू बैठक छोडेर निस्किएका थिए ।

एमालेले कार्यविधिको नियम १५ (२) मा बैठकको निर्णय सामान्यतया सर्वसम्मतिका आधारमा गर्नुपर्ने र मतविभाजन हुने अवस्थामा बैठकमा बहुमत सदस्यको निर्णय बैठकको निर्णय मान्नुपर्ने प्रस्ताव गरेको छ । बैठक सञ्चालनसम्बन्धी कार्यविधिमा ‘१५(२) बैठकको निर्णय सामान्यतया सर्वसम्मतिका आधारमा हुनेछ । मतविभाजन हुने अवस्थामा अध्यक्षता गर्ने व्यक्तिसहित बहुमत सदस्यको निर्णय बैठकको निर्णय मानिनेछ’ उल्लेख छ ।

एमालेले नियम १५ (३) मा बजेट कार्यक्रम नीति तथा स्थानीय तह नियमावलीबाहेकको विषयमा १५ (२) बमोजिमको व्यवस्थाबमोजिम भएको निर्णय बैठकको निर्णय हुने प्रस्ताव गरेको छ । कार्यविधिमा भनिएको छ, ‘१५ (३) बजेट कार्यक्रम निति तथा स्थानीय तहको नियमावलीबाहेकको विषयमा १५(२) बमोजिम निर्णय हुन नसकेमा व्यक्तिगत उत्तरदायित्व निजमाथि रहने गरी नगर कार्यपालिकाको प्रमुखले गरेको निर्णय अन्तिम हुनेछ ।’ एमालेले यो व्यवस्थामा पनि संशोधन माग गरेको हो ।

यस्तो छ, एमालेको प्रस्ताव ।

आफ्नो प्रस्तावमाथि मेयर, उपमेयर र गठबन्धनका अन्य कार्यपालिका सदस्यहरूले विरोध गरेपछि एमालेका सदस्यहरू बैठक बहिष्कार गरेर हिँडेका हुन् ।

एमालेले बैठक बहिष्कार गरेपछि मंगलबार कार्यपालिकाबाट नीति तथा कार्यक्रम पारित भएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । स्थानीय तहको बैठक सञ्चालन कार्यविधिअनुसार नगर प्रमुख मिनाकुमारी लामाको निर्णयबाट कार्यक्रम पारित भएको उनले बताए ।

एमालेले बैठक बहिष्कार गर्नुअघि नै बैठकमा नीति तथा कार्यक्रम छलफलका लागि पेस भएको प्रवक्ता न्यौपानेको भनाइ छ । ‘बैठकमा कोरम पुगेर सबै जनाको उपस्थित भएपछि नीति कार्यक्रम टेबल भएको हो । प्रस्तुत गर्ने बेलामा संशोधन प्रस्तावको विषय एमालेले अगाडि बढाएको थियो,’ न्यौपानेले भने । कार्यपालिका बैठकले १० असारमा नगरसभा बोलाएको छ । सोही दिन नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

हेटौँडा उपमहानगरपालिकाले ३० असारमा साढे २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको न्यौपानेले जानकारी दिए । उपमहानगरले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट ल्याउने नगर प्रमुख लामाले बताइन् । शिलापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*