कुन्दन धिताल लियो क्लब हेटौंडा सुर्योदयको अध्यक्ष
हेटौंडा– हेटौंडामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा प्रवेश धिताल ‘कुन्दन’ चयन भएका छन् ।
क्लबको शनिबार बसेको बैठकले आगामी लायन वर्ष २०२२–०२३ को लागि पत्रकार धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उनी विगत ८ वर्षदेखि मकवानपुरको पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । उनले हाल साझापत्र नामक डिजिटल पत्रिका सञ्चालन गरिरहेका छन् ।
क्लबको प्रथम उपाध्यक्षमा मनकामना पुडासैनी, द्वितीय उपाध्यक्षमा सुजन ढुंगाना, तृतीय उपाध्यक्षमा भुवन घलान, सचिवमा मञ्जु क्षेत्री, कोषाध्यक्षमा सुजन अधिकारी, सह–सचिवमा सागर सापकोटा र सह–कोषाध्यक्षमा मन्दिरा तिमल्सिना चयन भएका छन् ।
क्लबका वर्ष २०२१–०२२ का अध्यक्ष पारस पाठकको सभाध्यक्षता भएको बैठकमा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका एरिया चिफ किशोरकुमार टण्डन, लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका रिजन चेयरपर्सन शुभम लम्साल ‘विप्लव’ लगायतको उपस्तिथि थियो ।