जिसस मकवानपुरमा गठबन्धनका उम्मेदवारको जित निश्चित

संवाददाता
जेष्ठ ३१, २०७९

हेटौंडा– जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरको प्रमुखमा गठबन्धनबाट र नेकपा एमालेको तर्फबाट दुई जनाको उम्मेदवारी परेको छ ।

असार २ गते तय भएको जिसस निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । घलान ३० वैशाखमा भएको स्थानीय तह सदस्य निर्वाचनबाट हेटौंडा–१२ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी दोस्रोपटकका लागि वडा अध्यक्षमा विजयी भएका थिए । घलानले वडा अध्यक्षबाट राजीनामा दिएर जिसस प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी, नेकपा एमालेको तर्फबाट इन्द्रसरोबरका जनप्रतिनिधि बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ । जिसस प्रमुखमा गठबन्धनका उम्मेदवारको जित लगभग निश्चित जस्तै छ ।

गठबन्धनका उम्मेदवारबिरुद्ध कुनै दाबी बिरोध पुष्टि नभई गठबन्धन कायम रहेको अवस्थामा घलानको जित निश्चित बनेको हो । २० सदस्यीय जिसस निर्वाचनमा १७ मत गठबन्धनसँग छ । एमालेसँग ३ मतमात्रै छ । एमालेले निर्वाचन जित्न ठूलो मत तान्नु पर्ने देखिन्छ ।

तर, गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिकै मत तान्न एमालेलाई असम्भव जस्तै छ । निर्वाचनमा गठबन्धन र एमालेबीच ठूलो मतको फरक देखिएकोले गठबन्धनका उम्मेदवारको जित लगभग पक्का बनेको हो ।एमालेले हार निश्चित देखेपछि बुद्धिराम डिम्डुङलाई उम्मेदवार बनाएको चर्चा छ ।

किनकि, जिसस प्रमुखका लागि एमालेभित्र एक दर्जन बढी नेता आकांक्षी थिए । जिसस प्रमुखकै लागि स्थानीय तह निर्वाचन लडेका एमालेका केही नेता वडा सदस्यमै पराजित हुन पुगेका थिए । गत निर्वाचनमा बहुमत भएकाले एमालेका प्रमुख, उप्रमुख र सदस्य जिससमा निर्वाचित भएका थिए । यसपालि एमाले जिससबाट ‘क्लिन स्वीप’ हुने सम्भावना बढेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख र उपप्रमुख तथा ७ सदस्यका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुईंटेलले मनोनयन दर्ता गराए ।

उपप्रमुखमा एमालेबाट उम्मेदवारी दर्ता भएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपप्रमुखमा लुर्इंटेलको मात्रै उम्मेदवारी परेको हो । जिससको ३ जनालाई महिला सदस्यका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

महिला सदस्य पदमा नेपाली कांग्रेसबाट क्रमशः तारा ढुंगाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ र नेकपा एमालेकी बिनाकुमारी थिङ लामाले उम्मेदवारी दिएका हुन् । दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले मात्रै उम्मेदवारी दर्ता गराएकी छन् ।

अन्य खुल्ला सदस्यहरुमा नेकपा एकीकृत समाजवादीबाट वीरेन्द्रकुमार लामा, नेकपा माओवादी केन्द्रबाट सुवर्ण गोपाली, खड्गबहादुर पुलामी र एमालेका तोयानाथ तिमल्सिनाले उम्मेदवारी दिएको जनाइएको छ ।

३ जना खुल्ला सदस्यका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुख र सात जना सदस्य रहने छन् । मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका इन्द्रसरोबर, भीमफेदी, मकवानपुरगढी, बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश रहेका छन् ।

सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउँछन् । जसमध्ये कांग्रेसको ९, माओवादी केन्द्रको ७, नेकपा एमालेको ३ र एकीकृत समाजवादीको १ जना मतदाता छन् ।

गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) छन् भने एमाले एक्लै छ । ३१ असार अर्थात् आज मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारमाथि दाबी बिरोधको समय रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् । आज मंगलबार नै मनोनयन पत्रको जाँच र उजुरी परेमा त्यसउपर निर्णय गरिने उनले बताए ।

उम्मेदवारको नामावली प्रकाशन गर्ने, कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा लिन सकिने र नलिएको अवस्थामा अन्तिम नामावली प्रकाशन हुने श्रेष्ठले जनाए । १ असारमा उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र २ गते मतदान हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*