बालेन साह काठमाडौंको मेयरमा निर्वाचित

संवाददाता
जेष्ठ ११, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन् । अब गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेनले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् ।

बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ । अब मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि नतिजामा फरक पर्ने छैन ।

हालसम्मको मतगणनाअनुसार एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । स्थापितको भन्दा बालेनले २१ हजार १२१ बढी मत पाएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ३२२ मत प्राप्त गरेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १२५ मत खसेको थियो । शिलापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*