बागमतीका मन्त्रालय बजेट बनाउने चटारोमा, बजेटको शिलिङ तोकियो
हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्नका लागि धमाधम काम भइरहेको छ । प्रदेशका सबै मन्त्रालयमा अहिले विभिन्न शाखाका कर्मचारी, महाशाखाका प्रमुखहरु, सचिवहरु र मन्त्रीहरुलाई भ्याइनभ्याइ भएको छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजान मन्त्रालयले हरेक मन्त्रालयलाई बजेटको शिलिङ तोकेको छ । सोही शिलिङमा रहेर बजेट निर्माण गर्ने काम भइरहेको कर्मचारीहरु बताउँछन् ।
मन्त्रालयहरुले यसअघि पाइरहेको बजेटको शिलिङ भन्दा आउँदो आर्थिक वर्षका लागि तोकिएको बजेटको शिलिङ घटेको छ । पहिले सात वटा मात्र मन्त्रालयहरु रहेको र अहिले दोब्बर थपिएपछि पहिलेका वर्षहरुमा पाउँदै आएको बजेटको शिलिङ घटेर आएको हो ।
बजेट निर्माणका लागि हरेक क्षेत्रमा संघसंस्था र सम्वन्धित क्षेत्रका बिज्ञहरुसँग छलफल गरिरहेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण पाण्डेले बताए ।
सबैको सुझाबका आधारमा बजेट निर्माण गर्नेगरी दिनहुँ जसो छलफल गरिएको छ । आर्थिक मामिला मन्त्रालयले मन्त्रालयको खर्च हुने क्षमताका आधारमा बजेटको शिलिङ तोकेको छ । त्यही अनुसार मन्त्रालय र मकातहतका कार्यालयहरुले बजेट निर्माण गर्ने कामहरु गर्दै आएका छन् ।