उम्मेदवारबाट मौन अवधि पालनामै शंका, के–के गर्न पाइँदैन ?

संवाददाता
बैशाख २८, २०७९

हेटौंडा–  स्थानीय तह निर्वाचनका लागि आज बुधबारदेखि मौन अवधि सुरु भएको छ । २७ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्ने समय समाप्त भएसँगै आजदेखि मौन अवधि सुरु भएको हो ।निर्वाचन आयोगले मतदान हुनु ४८ घण्टा अघिदेखि मौन अवधि तोकेको हो ।

पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न ३० वैशाखमा देशभर मतदान हुँदैछ । ३० वैशाख शुक्रबार बिहान ७ बजेदेखि अपराहन्न ५ बजेसम्म मतदान हुनेछ ।

उम्मेदवारहरु मतदाताको घरघर पुगेका छन् । उम्मेदवारहरुको योजना र प्रतिबद्धताअनुसार निर्वाचन प्रचारप्रसार सक्किएपछि मतदातालाई आफ्नो धारणा तय गर्न मौन अवधि दिने गरिन्छ ।

मतदान गर्ने समय अघिको दुई दिनलाई मतदाताको लागि धारणा बनाउने समय दिइएको निर्वाचन आयोगले जानकारी दिएको छ ।मौन अवधि सुरु भएपछि अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द गरिने आयोगले जनाएको छ ।

अत्यावश्यक परेको हकमा मात्रै अनुमति लिएर जान आउन सकिने जनाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा १ मा ‘निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन’ सम्बन्धी व्यवस्था भएअनुसार ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरण’ शीर्षकमा १८ बुँदे निर्देशन जारी गरिएको छ ।

मौन अवधिमा पनि दलहरु कानुन उल्लंघन गर्न सक्ने संकेत देखिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा सबै राजनीतिक दलबाट आचारसंहिता विपरितका गतिविधि भएकाले मौन अवधिमा पनि कानुन उल्लंघन हुनसक्ने सम्भावना बढेको हो ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले मौन अवधिमा कानुन विपरितका कार्य भए तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् । उनले निर्वाचन कार्यालय निर्वाचन गराउने निकाय भएको भन्दै निर्वाचन आचारसंहिता हेर्ने सुरक्षा निकायले कडाई गर्नुपर्ने बताए ।

के गर्न पाईंदैन ?
निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्मको अवधिमा प्रचारप्रसार पूर्णरुपमा बन्द गर्नु पर्नेछ ।

मौन अवधिमा दलगत प्रकारका अन्तक्र्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन गर्न नहुने आचारसंहितामा उल्लेख गरिएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान हुने स्थानको ३०० मिटर वरपर क्षेत्रमा प्रचार सामग्रीहरु पनि सम्बन्धित दलहरुले हटाउनुपर्ने आयोगले जानकारी दिएको छ ।

मतदाता प्रभावित गर्ने खालका कुनैपनि गतिविधि गर्न नपाइने निर्वाचन आयोग मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । श्रेष्ठले नाराबाजी, प्रचारसामग्री वितरण गर्न नपाइने बताए ।

मौन अवधिभित्र सामाजिक सञ्जालबाट पनि मत माग्न नपाइने उनले जानकारी दिए । मत माग्न धेरैलाई एकैपटक एसएमएस पठाउन सकिने सेवा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ ।

आपतकालीन सेवा र अनुमति लिएका हकमाबाहेक मतदानको दिनमा सवारीसाधन सञ्चालन हुन नपाउने जनाइएको छ । साइकल भने चलाउन पाइने जनाइएको छ ।

मतदानको दिनमा उम्मेदवार वा तिनका प्रतिनिधिले मतदान केन्द्रमा निर्वाचन चिन्ह वा संकेत भएका लुगा वा ब्याज लगाउन नपाइने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले साझाकुरालाई जानकारी दिएका छन् । चुनाव चिन्ह झल्किने सांकेतिक पोसाक वा वस्तु लगाउन, बोक्न वा देखाउन नपाइने जनाइएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरका दश वटा स्थानीय तहमा एकहजार सातसय ७० जना निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सरकारी कर्मचारी खटिएका छन् ।

जिल्लास्थित दश स्थानीय तहका एकसय २ वटा वडामा रहेका तीनसय ६५ मतदान केन्द्रमा एकहजार आठसय जना कर्मचारी खटिएका हुन् ।जिल्लाको विभिन्न अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रको छनौट गरी सशस्त्र प्रहरी, जनपथ प्रहरी सुरक्षाको लागि परिचालन गरिएको छ । मकवानपुरमा दुईलाख ९४ हजार नौसय १९ जना मतदाता छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*