बुढीचौरबासी भन्छन्ः एमाले विकास गर्ने पार्टी रहेछ, कांग्रेसले धोका दियो

संवाददाता
बैशाख २३, २०७९

हेटौंडा– मकवानपुरगढी गाउँपालिकाको बुढीचौर क्षेत्र विकट हो । यही विकट बुढीचौरमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बिदुर हुमागाईं र उपाध्यक्ष सन्तु थिङ पाख्रिनले घरदैलो गरेका छन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, ८ नम्बर वडाका वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले घरदैलो गर्दै मत अपिल गरेका हुन् । मत माग्न मतदाताको घरघर पुग्दा एमालेका उम्मेदवारलाई जिताउने उनीहरुले बताएका छन् ।

बुढीचौरका मतदाताहरुले एमालेको पाँच वर्ष गाउँपालिका सरकारले गरेको विकासबाट प्रभावित बनेको बताएका थिए । उनीहरुले संधै पछाडि परेको बुढीचौरलाई गाउँपालिका अध्यक्ष रहँदा हुमागाईंले विकास गरेको भन्दै खुशी भएका हुन् ।

गाउँपालिकाले बुढीचौरलाई तरकारी उत्पादन र पर्यटनसँग जोडेर लगानी गर्दै आइरहेको थियो । अध्यक्ष हुँदा हुमागाईंले बुढीचौरमा चर्चित खुँडेधार पदमार्ग, ऋषेश्वर गुफाको विकास र सडक निर्माण, कच्ची सडक पक्की गर्ने, खानेपानी आयोजना र किसानलाई आयआर्जन गर्न तरकारी उत्पादनमा सहयोग गर्ने योजना कार्यान्वयन गरेका थिए ।

पाँच वर्षमा बुढीचौरको नसोचेको विकास भएकोले एमाले सरकारलाई फेरि पाँच वर्ष जिताउनु पर्नेमा स्थानीय मतदाताहरुले प्रतिक्रिया दिएका छन् । मतदाताहरुसँग मत अपिल गर्ने क्रममा अध्यक्ष उम्मेदवार हुमागाईंले विकासका लागि एमाले रोज्नु पर्नेमा जोड दिए । ‘तपाईंहरु विकास रोज्नु हुन्छ भने एमालेलाई मत दिनुस् । अहिले उचित निर्णय गर्नुभयो भने पाँच वर्षमा गाउँको मुहार फेरिने छ ।,’ हुमागाईंले भने ।

उपाध्यक्ष उम्मेदवार पाख्रिनले महिलाहरुलाई कृषि पेशामा लगाएर आयआर्जनमा जोड्ने योजना ल्याउने र क्षमता अभिवृद्धिमा निरन्तर कार्यक्रम सञ्चालन गरिने बताइन् । एमालेबाट ८ नम्बर वडामा युवा उम्मेदवार विनोद पुडासैनी छन् ।

यही विकट बुढीचौरमा गत निर्वाचनमा कांग्रेसका उम्मेदवारले वडा अध्यक्ष जितेका थिए । कांग्रेसले वडामा पाँच वर्ष काम नै नगरी खेर फालेको भन्दै एमालेलाई मत दिएर जिताउनेमा बुढीचौरबासी एक भएको पाइएको छ ।

घरदैलोमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना ,नेकपा एमाले मकवानपुरका जिल्ला कमिटी सचिवालय सदस्य मेम्बर लो, एमाले नेता खिलप्रसाद चौलागाईं, अनेरास्ववियु मकवानपुरका सहसचिव प्रमोद फुयाँल, युवा संघ गाउँ कमिटी सहसचिव उज्वल देवकोटालगायतकाको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*