बिदुर हुमागाईंको पाँचवर्षः साना किसानलाई दुई लाख ऋणदेखि बालमैत्री घोषणासम्म

संवाददाता
बैशाख १७, २०७९

हेटौंडा– २०७४ सालको स्थानीय तह निर्वाचनमा भएको पनि पाँच वर्ष बित्न लाग्यो । राज्य पुनःसंरचना पश्चात मुलुकमा संघीयता आएपछि दोस्रो पटक आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ ।

पाँच वर्षअघि कांग्रेसका उम्मेदवारलाई हराउँदै मकवानपुरगढी गाउँपालिकाको नेतृत्व एमालेका बिदुर हुमागाईंले विजयी हासिल गरेका थिए । इमान्दार र लगनशील व्यक्तिको परिचय बनाएका हुमागाईंको मुख्य पेशा कृषि तथा पशुपालन हो ।

कृषि तथा पशुपालनसँगै राजनीति गर्दै आएका हुमागाईंले मकवानपुरगढीको पहिलो अध्यक्ष बन्ने अबसर पाए । उनले यस सुनौलो अबसरलाई कसरी सदुपयोग गरिरहेका छन् त ? कार्यकाल सकिनै लाग्दा चर्चापरिचर्चा गर्नु अपरिहार्य हुन्छ ।

हुमागाईं अध्यक्ष बनेको पाँच वर्षमा गाउँपालिका कस्तो बन्यो, यहाँका जनताको जीवन स्तर परिवर्तन गर्न कस्तो भूमिका खेलियो ? यसविषयमा बहस गर्नैपर्छ ।

दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु चयन गर्ने समय नजिकिँदै छ । अध्यक्ष हुमागाईंले आफ्नो कार्यकालभित्र पूर्वाधारतर्फ सडक, पुल, स्वास्थ्य तथा शैक्षिक संस्थाको भवन, सामुदायिक भवन, खानेपानी आयोजनालगायतका काम गरेका छन् ।

कृषिमा गाउँपालिकाले आमुल परिवर्तन नै ल्यायो । पर्यटनमा पृथ्वीनारायण शाह हिँडेको खुँडेधारदेखि मकवानपुरगढी दरबारको जीर्णोद्वार, १ नम्बर वडामा रानिसेरा एग्रो टुरिजम पार्कलगायतका थुप्रै काम भएका छन् । गाउँपालिकाको मुख्य सडकहरुमा स्ल्याब ढलान भएका छन् ।

सामरी खोला र ज्यामिरे खोलामा गरी तीन वटा पक्की पुल, एउटा बेलिब्रिज, दुई वटा तीन पाङ्ग्रे सवारी गुड्ने पुल र पाँच वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

विगतमा खोलाबाट ओसारेर वा मोटरबाट तानेर पानी खानुपर्ने बस्तीमा अहिले घरघरको धारामा पानी पुगेको छ । टावरडाँडा खानेपानी आयोजनाबाट २ सय ४० घरधुरी र बुर्जडाँडा खानेपानी आयोजनाबाट ३ सय घरधुरीले खानेपानी घरमै पाएका छन् ।

१, २, ५, ६, ७ र ८ नम्बर वडामा खानेपानी आयोजना निर्माण भइरहेका छन् । स्थानीय तह हुनुअघि करिब ५०–६० वटा तरकारी टनेल भएको गाउँपालिकामा अहिले ९ सय ५९ वटा तरकारी टनेल निर्माण भएका छन् ।

एक भन्दा बढी व्यवसायिक पशुपालनमा जोडिएका छन् भने ५० भन्दा बढी महिला समूह समूहिक तरकारी खेतीमा लागेका छन् । गाउँपालिकाले चालु आवमा दुग्ध उत्पादक किसान, संचित कोष तथा उपदान प्रोत्साहन साझेदारी कार्यक्रमका लागि २२ लाख ५० हजार रुपैयाँ बजेट राखेको छ । किसानलाई प्रतिकेजी अनाजमा ४ रुपैयाँ अनुदान, प्रतिकेजी तरकारीमा २ रुपैयाँ अनुदान, प्रतिकेजी फलफूलमा २ रुपैयाँ अनुदान र मासुमा प्रतिकेजी ३० रुपैयाँ अनुदान दिइएको छ ।

सायद, आफू कृषक भएरपनि हुमागाईंले कृषि तथा पशुपालनबाटै पालिकाबासीको जीवनस्तर उकास्ने योजनालाई प्राथमिकतामा राखेका हुन् । उनले कृषि तथा पशुपालनबाट मनग्य आर्जन हुने र यसबाटै जीवन स्तर उकासिनेमा पटक–पटक जोड गर्दै आइरहेका छन् ।

पशुदाना उद्योग स्थापना

मकवानपुरगढी गाउँ पालिकाको मुख्य अगुवाईमा ३ नम्बर वडास्थित तल्लो कालिखोलामा पशुदाना उद्योग स्थापना भएको छ ।

मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघले सञ्चालनको जिम्मेवारी लिएको दाना उद्योगमा मकवानपुरगढी गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको लगानी रहेको छ ।

गाउँपालिका अध्यक्षमा चुनिए लगतै गाउँमा गुणस्तरीय दाना खुवाएर दूध उत्पादनमा जोड दिन हुमागाईंको योजनामा उद्योग स्थापना भएको हो । उद्योगले हाल दैनिक एक सय बोरा दाना उत्पादन गर्दै आइरहेको छ ।

गुणस्तरीय दाना भएकाले किसानको माग उच्च छ । उद्योगले किसानको मागअनुसार अझै दाना उत्पादन गर्न सकिरहेको छैन् ।

साना किसानलाई ऋण प्रवाह

गाउँपालिकाले साना किसानलाई व्यवसायिक कृषि पेशामा आकर्षित गर्न किसान क्रेडिट कार्डमार्फत ऋण प्रवाह गरेको छ । मकवानपुरमा पहिलो पटक मकवानपुरगढीले किसानहरुलाई क्रेडिट कार्ड वितरण गरेको हो ।

साना तथा सीमान्तकृत कृषकमाझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले गाउँपालिकाले किसान कार्ड वितरण गरेर ३ दशमलव ५ प्रतिशत ब्याजदरमा नेपाल बैंगलादेश बैंकबाट ५ वर्षका लागि २ लाखसम्म ऋण दिने व्यवस्था गरेको हो ।

चालू आर्थिक वर्षभित्र ४ सय जनालाई ऋण दिने योजना गाउँपालिकाको छ । आर एण्ड डी ईनोभेटिभ सोलुशन प्रालि र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिको समन्वयमा यो काम भएको हो । यसवर्ष पुस मसान्तभित्र गाउँपालिकाले ५१ जना किसानलाई २ लाख रुपैयाँका दरले १ करोड २ लाख ऋण प्रवाह गरिसकेको छ ।

किसान प्रोत्साहन अनुदान कार्यक्रम

मकवानपुरगढी गाउँ पालिकाले कृषि विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ कार्यान्वयन गरिरहेको छ । गाउँपालिकाले गाँउपालिकास्थित सहकारीमार्फत बजारीकरण गर्दै आएको हो ।

अनुदानले स्थानीय किसानको कृषि उपज बजारीकरणमा सहजता भएको छ । सहकारीमार्फत खाद्यन्न खरिद बिक्री गत आव २०७७÷०७८ बाट सुरुआत गरिएकोमा चालू आवमा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएकोे हो ।

गाउँपालिकामा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले संकलन र बजारीकरणको काम थालिसकेको छ ।

दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान

गाउँपालिकाले पहिलो वर्षदेखि नै दूधमा किसानहरुलाई १ रुपैयाँ अनुदान दिन सुरु गरेको थियो । मवानपुरगढी जिल्लाकै पहिलो गाउँपालिका हो, जस्ले दूधमा अनुदान दिन सुरु गरेको हो ।

प्रतिलिटर दूधमा अनुदान दिन गाउँपालिकाले चालु आवमा ४५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले दूधमा अनुदान दिएपछि प्रदेश सरकारलेपनि २ रुपैयाँ अनुदान दिन थालेको थियो ।

अहिले गाउँपालिकाबासीले दूधमा प्रतिलिटर गाउँपालिका र प्रदेश सरकारको २ रुपैयाँ गरी कुल ३ रुपैयाँ अनुदान पाउँदै आएका छन् ।

१५ शैयाको हस्पिटल

शरिरमा घाउचोट लागमात्रै उपचार गर्न सरदमुकाम हेटौंडा जानुपर्ने पालिकाबासीको दुःख अब हट्ने भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा १५ शैयाको अस्पताल निर्माण भइरहेको छ ।

अस्पतालको ८० प्रतिशत निर्माण सकिएको छ । घाउचोट लागे सदरमुकाम जानुपर्ने यस ठाउँका जनताले अब गाउँमै उपचार पाउने भएका छन् ।

गाउँपालिकाको पहल पश्चात संघीय सरकारको ९ करोड रुपैयाँ लागतमा अस्पताल निर्माण भएको हो । जिल्लाका १० स्थानीय तहमध्ये मकवानपुरले सबैभन्दा पहिला अस्पताल निर्माण सुरु गरेको थियो ।

एक वडा एक स्वास्थ्य इकाई

हुमागाईंले पाँच वर्षे कार्यकालभित्र प्रत्येक वडामा स्वास्थ्य इकाई स्थापना गरेका छन् ।

विगतमा भाडाको घरमा बस्नुपर्ने र जीर्ण भवनबाट सेवा दिँदै आएका इकाईहरुले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । कतिपय वडामा स्वास्थ्य इकाई नभएको अवस्थामा स्वास्थ्य इकाई स्थापना गरेर गाउँबासीलाई स्वास्थ्य उपचार प्रदान गरिएको छ ।

एक वडा एक मावि

गाउँपालिकाको ८ वटै वडामा माध्यमिक विद्यालय स्थापना भएका छन् । कतिपय जीर्ण विद्यालय भवन हटाएर नयाँ भवन बनिसकेका छन् भने अधिकांश विद्यालयमा नयाँ संरचना निर्माण भइरहेका छन् ।

विदेशी सहयोग नियोगहरु बाट पनि विद्यालयका भवन निर्माण भइरहेका छन् । यसैगरी, गुणस्तरीय शिक्षा प्रदान गर्न ज्येष्ठ शिक्षकहरुलाई प्रोत्साहन स्वरुप अवकाश दिएर युवा शिक्षकहरुबाट पठनपाठन गराउने कार्य भएको छ । बाल विकास केन्द्रलाई स्तरोन्नती गर्दै इसिडी शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्ने कार्य भएको छ ।

माटो परीक्षण प्रयोगशाला

गाउँपालिकाको पहलमा २०७६ सालमा ६ नम्बर वडास्थित आइपीएम कृषि सहकारीको भवनमा माटो परीक्षण प्रयोगशाला स्थापना भएको छ ।

बामती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लामै पहिलो पटक मकवानपुरगढीमा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।

गाउँपालिकाले प्रयोगशाला कक्ष, जनशक्ती र सञ्चालन खर्च व्यहोर्दै आएको छ । माटो परीक्षण ल्याबबाट माटोमा देखिएको समस्या समाधान हुँदै आएको छ । यसबाट किसानले धेरै राहत पाएका छन् ।

देशकै चौथो बालमैत्री घोषणा

अध्यक्ष हुमागाईंले आफ्नो कार्यकालमा गाउँपालिकालाई देशकै चौथो बालमैत्री घोषणा गर्न सफल भए । ७ सय ५३ वटा स्थानीय तहमध्ये मकवानपुरगढी देशकै चौथो बालमैत्री घोषणा १२ चैतमा भएको हो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गाउँपालिकालाई बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरु पूरा गरेकाले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको हो । मकवानपुरगढी गाउँपालिका जिल्लाको तेस्रो बालमैत्री स्थानीय तहपनि हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*