मकवानपुरमा कांग्रेसभित्रकै आन्तरिक द्वन्द्वले बागी उम्मेदवार
मकवानपुर— बागी उम्मेदवारका कारण नेपाली कांग्रेस मकवानपुरलाई समस्या परेको छ । वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनको टिकट वितरणलाई पारदर्शी बनाउन नसक्दा कांग्रेसका नेताहरुले विभिन्न स्थानमा बागी उम्मेदवार दिएका हुन् । सत्तारुढ गठबन्धनले तोकेकोभन्दा अन्य उम्मेदवारलाई कांग्रेसले बागीको रूपमा चित्रण गरेको छ ।
मनहरी गाउँपालिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपानेले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले नेपाली कांग्रेस बीपी पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् । उनीसँगै सोही दलबाट कांग्रेस नेतृ जानुकी लामाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् ।
न्यौपानेले आफ्नो वडा मनहरी–४ मा कांग्रेसबाट कुनै पनि पदमा उम्मेदवारी नै नदिने अवस्था सिर्जना गरेका थिए । फलस्वरुप यस वडामा नेपाली कांग्रेसको उम्मेदवार नै छैन ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका अध्यक्षमा पनि कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामा भोलनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । दुवैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
हेटौंडा उपमहानगरपालिका–२ मा सुदीप राजवाहक र हेटौंडा–९अध्यक्षमा सुशील सिग्देलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । राजवाहक अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । सिग्देल तरुण दल नगरका पूर्वसचिव हुन् । इकान्तिपुरबाट ।