मकवानपुरगढी देशकै चौथो बालमैत्री स्थानीय तह घोषणा

संवाददाता
चैत्र १३, २०७८

हेटौंडा– मकवानपुरगढी गाउँपालिकालाई देशकै चौथो बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गरिएको छ ।

बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८ अनुसार ५१ वटा सूचकमा काम गरेको मकवानपुरगढीलाई शनिवार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् ।

घोषणा गर्दै मुख्यमन्त्री पाण्डेले बालबालिकाको क्षेत्रमा काम गर्नेगरी एक करोड रुपैयाँ बजेट दिने प्रतिबद्धता जनाएका छन् । बागमती प्रदेशभित्र बालमैत्री घोषणा भएका स्थानीय तहलाई एक–एक करोड दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बागमतीमा जम्मा तीन वटा स्थानीय तह बालमैत्री घोषणा भएका छन् । जसमध्ये तीनवटै मकवानपुरको मनहरी गाउँपालिका देशमै पहिलो, बकैया गाउँपालिका देशमै दोस्रो र मकवानपुरगढी आज शनिवार देशमै चौथो बालमैत्री स्थानीय शासन अबलम्ब गर्ने पालिका घोषित भएका छन् ।

मनहरी र बकैयाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०६८ अनुसार ३९ वटा सूचकमा काम गरेका थिए । मकवानपुरगढीले भने थप १२ वटा सूचकमा काम गरेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री घोषणा हुने पहिलो गाउँपालिका पाल्पाको रम्भा हो ।

बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकमध्ये ४० वटामा शतप्रतिशत सफलता हासिल गरेको र बाँकी ११ वटा सूचकमा ९९ दशमलव ७५ प्रतिशत प्रगति गरेको गाउँपालिका अध्यक्ष बिदुर हुँमागाईंले जानकारी दिए ।

आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा बालमैत्री स्थानीय शासन नीतिगत अबलम्बन गर्ने योजना राखेको गाउँपालिकाले १९, २० माघ २०७७ मा घोषणाको लागि गाउँपालिकास्तरमा हस्ताक्षर गर्दै सामुहिक प्रतिबद्धता जनाइएको थियो ।

गाउँपालिकामा १ सय ३ वटा बाल समूह, वडा र गाउँपालिका बाल सञ्जाल ९ वटा गरी पालिकाभित्र १ सय १२ वटा बाल समूहमा एक हजार ७ सय ६२ बालबालिका आवद्ध रहेको अध्यक्ष हुमागाईंले बताए ।

घरधुरी सर्वेक्षण २०७७ अनुसार ४ हजार ६ सय २४ बालक र ३ हजार ६ सय ७२ बालिका गरी कुल ८ हजार २ सय ९३ बालबालिका रहेका छन् । गाउँपालिकामा ३९ सामुदायिक र १ संस्थागत गरी ४० वटा विद्यालयहरु सञ्चालनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*